दार्चुलामा पत्नीसँग सम्बन्ध विच्छेद गर्ने पुरुष बढे

काठमाडौँ । पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्ध विच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिनामा ६ पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।
चालु आवमा गत आवको जिम्मेवारी सरेकाले सात गरी कूल १३ पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै संख्यामा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।
पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेद गराउन चाहनेको संख्यामा बढ्दै गएको अदालतको तथ्यांकले देखाउँछ । गत वर्ष ३० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
मुद्दा दर्ता गराउनेमा १८ महिला थिए । गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताए । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव २०७५÷७६ मा ४३ सम्बन्ध विच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए ।
आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शंका गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्ध विच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवाली बताउँछन् । पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शंकाउपशंका, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्नेलगायत कारण पती पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ ।
महिलाको तुलनामा पुरुषले सम्बन्ध विच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्यांक छ । “छोरा नभएको कारण देखाएर पनि सम्बन्ध विच्छेद गर्ने गरेका छन्”, ज्ञवालीले भने ।
प्रतिक्रिया