यस्तो छ राष्ट्रिय जनगणनाको तयारी
काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिबाट गणना

काठमाडौं । बिहीबारदेखि सुरु हुने बाह्रौँ राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना कात्तिक २५ गते बिहीबारदेखि सुरु गर्न लागिएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गरी जनगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठकाअनुसार, जनगणनाको लागि आवश्यक सम्पूर्ण तयारीको काम सम्पन्न भइसकेको छ ।
जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधि हुने उनले बताए ।
देशभर ३४९ वटा स्थानीय जनगणना कार्यालय
जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको श्रेष्ठले जानकारी दिए ।
काठमाडौं जिल्लामा भने ५ वटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरु मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलाली लगायतका जिल्लामा भने २/२ वटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताए ।
जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने उनले जानकारी दिए ।
कालापानी क्षेत्रको पनि जनगणना गरिने
तथ्याङ्क विभागका महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवतजावत गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताए ।
‘भारतीय सरकारबाट सहज आवत् जावत् दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छौ । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन ।’, श्रेष्ठले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जानकारी हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट अथवा नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिँदा लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ ।’
अहिले प्रविधिको विकास साह्रै राम्रो भएको उल्लेख गर्दै उनले स्याटेलाइटहरु प्रयोग गरी ती क्षेत्रहरुमा कति घर छ भन्ने सजिलैसँग गणना गर्न सकिने उनले बताए ।
सबै तहमा चाहिने खण्डिकृत विवरणहरु आउने
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताए ।
सबै तहमा चाहिने खण्डिकृत विवरणहरु जनगणनाबाट आउने पनि उनले स्पष्ट गरे । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जगणना माउ ग्रन्थको रुपमा रहने उनले बताए ।
काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिबाट गणना
काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिबाट गणना गरिने भएको छ ।
डिजिटल पद्धतिमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिने विभागले जनाएको छ ।
साथै विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरुको जनगणना संकलन गरिने भएको छ ।
यस पटकको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
प्रतिक्रिया