आइतबार, चैत २९, २०८२

एकल प्रयासमा उत्कृष्ट ट्रमा अस्पताल बनाउँदै ‘प्रमोद’

मेरोन्यूज २०७८ कार्तिक २७ गते ९:०१

काठमाडौँ । राजधानी काठमाडौँभन्दा बाहिरी जिल्लामा उपचार पाउन नसकेका बिरामीलाई लक्षित गर्दै एक युवाले अस्पताल खोल्ने अठोट लिएका छन् । अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा. प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

लमजुङको राइनास नगरपालिका–८ माझीगाउँमा जन्मिएका लामिछानेले काठमाडौँको बीएण्डबी अस्पतालमा उपत्यका बाहिरबाट आउने ठूलो संख्याका बिरामीको पीडालाई लक्षित गर्दै भरतपुरमा अस्पताल खोल्ने निधो गरेका थिए । भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौँ विश्वविद्यालयबाट अर्थोपेडिकमा एमडी गरेसँगै उनले बीएण्डबीमा काम थालेका थिए ।

कामको दौरानमा मकवानपुरदेखि बुटवलसम्मका दुर्घटनाका धेरै घाइते उपचारका लागि काठमाडौँ नै धाउनु पर्ने बाध्यता देखेपछि उनले बीचमा पारेर अस्पताल खोलेको बताए । बीएण्डबीमा आठ महिना काम गरेपछि उनी चितवन गएका थिए ।

मध्यम वर्गीय परिवारमा हुर्किएका लामिछानेसँग अठोट र साहस त थियो । तर, पैसा थिएन । विसं २०६७ कात्तिक १७ गते अस्पताल त दर्ता गरे तर आर्थिक व्यवस्थापन हुन सकेन । विगतलाई सम्झँदै उनी भन्छन्, ‘परिवारले मात्रै होइन, बैंकले पनि मलाई पत्याएनन् ।”

चितवनका सबै बैंकमा परियोजना ऋण प्रस्ताव पेश गरे पनि कसैले ऋण नपात्याएपछि बहिनीको घर धितोमा राखेर उनले ऋण लिएका थिए । छोराको तीव्र चाहानाका कारण शिक्षक पेसामा रहेका बुबाले दिएको पूँजीमा बैंकको ऋण थप गरेर अस्पताल सुरु गरे । त्यसो त उनलाई अस्पताल उपकरण खरिद गर्न सप्लायर्सले उधारो पत्याए । यसरी सुरु भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उनले रातदिन मिहिनेत गरे ।

पछिल्ला पाँच वर्ष पारिवारिक समस्याका कारण चाहे जति समय दिन नभ्याए पनि अस्पताललाई कहिल्यै पछाडि धकेलिन दिएनन् । यो अवधिमा आफ्नो नेतृत्वमा २० हजार शल्यक्रिया गरेको उनको भनाइ छ । त्यसो त उनी एक्लैले १५ हजार शल्यक्रिया गरिसकेका छन् ।

“२४ घण्टामा मैले १४ वटा शल्यक्रिया र ४० जनाको बहिरंग परीक्षण गरेको छु”, उनले भने । मिहिनेतकै कारण अस्पताल भाडामा रहेको भवनसमेत खरिद गर्न सफल भएका छन्, उनी । लामिछानेको पाँच कठ्ठा जमिनमा अस्पताल भवन छ । जहाँ ५० शय्याको ट्रमा अस्पताल सञ्चालनमा छ । अस्पतालमा तीन अर्थोपेडिक सर्जन, चार मेडिकल अधिकृतसहित ६५ जना जनशक्ति कार्यरत छन् ।

जिल्लामा अत्याधुनिक उपकरण प्रयोग गरेर शल्यक्रिया र उपचार गर्दै आएको उनको भनाइ छ । विसं २०३८ माघ १४ गते जन्मिएका लामिछाने आफ्नो चार दशकको उमेरमा जे गरे आउँदा दिनमा थप सेवा दिने गरी अस्पतालको सञ्चालन गर्ने तयारीमा रहेका छन् । श्रीमती गुमाएका उनी आगामी दिनमा थप ऊर्जाका साथ काममा जुट्ने तयारीमा रहेका छन् । उनले भने, “ट्रमा क्षेत्रमा मोफसलको उत्कृष्ट अस्पताल बनाउने तयारीमा छु ।”

सबै बिरामी काठमाडौँ पुग्दा धेरैले दुःख पाएको र कतिपयको बाटोमै निधन हुने गरेको भन्दै उनले समयमै उपचार गर्न सक्दा धेरैको ज्यान बचाउन सकिने बताउँछन् ।

पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक र भित्री सडकमा हुने दुर्घटनाका घाइते उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । यसरी आएका घाइते ७५ प्रतिशत हाराहारी बीमाका हुने गर्दछन् । सकेसम्म कम खर्चमा उपचार गराउने गरी आफूले उपचार गर्दै आएको बताउँछन् उनी ।

घाँटीभन्दा तल छातीबाहेकका सम्पूर्ण अर्थोपेडिक शल्यक्रिया आफूहरुले गर्दै आएको उनले बताए । धेरै चिकित्सक राजधानी केन्द्रित हुँदै गर्दा आफ्नो सीप मोफसलमा लगाउन सकेमा धेरैको विश्वास जित्न सकिन्छ उनले काम गरेर देखाइदिएका छन् । (रासस)

प्रतिक्रिया