मंगलबार, फागुन १९, २०८२

थारू समुदायलाई मेडरी नाच लोप हुने चिन्ता

मेरोन्यूज २०७८ मंसिर १ गते ७:२९

कावासोती । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ ।

Advertisement
nepal life insurencenepal life insurence

थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरुले चासो नदिएको थारू अगुवाहरू बताउँछन् । दैवीशक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ । अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ । पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो । पछिल्ला समय युवापुस्ताले चासो नदेखाउँदा मेडरी नाच लोप हुने अवस्थामा पुगेको पुष्परत्न महतोले बताए ।

थारूको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको महतोको भनाइ छ । “पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले चासो देखाउन छाडे”, महतोले भने, “अहिले नाच हराउँदै थाल्यो ।”

मेडरी नाच कृष्णलीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभारत नाच र रामलीलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुन्छ । यस नाचमा कम्तीमा १०० र बढीमा १५० नचनियाहरू गोलाकाररूपमा नाच्ने गर्दछन् । मेडरी नाच्दा मादल, झ्याली, तरबार र लट्ठीको प्रयोग गरिन्छ । नाचमा विशेषतः पुरुषहरू सहभागी हुने गर्दछन् । नाच सञ्चालन गर्नका निमित्त जनशक्ति धेरै र खर्चिलो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुने गरेको महतोले बताए ।

थारू समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो समय जिल्लामा कुनै विषेश अवसरमा पाकापुस्ताले मेडरी नाच प्रस्तुत गर्ने गरेको महतोले बताए । “धरै जना चाहिने हुँदा नाच देखाउनै समस्या छ, मान्छे पु¥याउनै गाह्रो छ, खर्च पनि उत्तिकै लाग्छ, तर पनि जसोतसो कहिलेकाहीँ देखाउने गरेका छौँ”, उनले भने । रासस

प्रतिक्रिया