बिहीबार, मंसिर २५, २०८२

एमाले महाधिवेशनमा यी नेताहरूले गर्दैछन् सम्बोधन

मेरोन्यूज २०७८ मंसिर १० गते १०:४५

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । एमाले महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड भने एमाले महाधिवेशनमा सहभागी हुन जाने छैनन । उनको पूर्व निर्धारित कार्यक्रम तय भईसकेकोले उनी त्यहाँ जाने कार्यक्रम नरहेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । यो कार्यक्रममा माओवादीले शुभकामनाका लागि पार्टीका स्थायी कमिटिका एक नेतालाई पठाउने भएको छ । माओवादीले स्थायी कमिटि सदस्य लिलामणि पोखरेललाई एमाले महाधिवेशनमा पठाउने वताइएको छ ।

करिब ४ घण्टा मात्रै महाधिवेशनको उद्घाटन सत्र चल्ने छ । शुक्रबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने उद्घाटन सत्र साढे ४ मै सक्ने योजना बनाइएको छ ।

उद्घाटन सत्रमा देशका विभिन्न स्थानबाट पुगेका नेता तथा कार्यकर्ताले जुलुस निकाल्ने कार्यक्रम रहेको छ । पार्टीको मूल जुलसमा भने केन्द्रीय स्तरमा शीर्ष नेताहरु नै सहभागी हुने भएका छन् ।

प्रतिक्रिया