शुक्रबार, फागुन २२, २०८२

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना हुम्लामा न्यून

मेरोन्यूज २०७८ मंसिर १३ गते १६:०७

सिमकोट । स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना भएको जनाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म संकलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो ।

जसमा सम्मानितरुपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षा अधिकारका एक, महिलासँग सम्बन्धित बलत्कार, बलत्कार प्रयास र यौन दुव्र्यवहारका पाँच र आर्थिक तथा समाजिक अधिकारको एक घटना प्रस्तुत गरिएको थियो ।

हालसम संकलन गरिएका तर पुनरावलोकन गर्न बाँकी घटना भए सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । संकलित घटनाबारे चर्चा गर्दै उक्त घटनाप्रति सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी भएको उनको भनाइ थियो । नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाले दुुई स्थानमा हुने एकै घटनाको प्रकृति पनि फरक हुने भएकाले दुईवटै क्षेत्रका घटनालाई संकलन गरी एउटा अभिलेख तयार पार्नु सुखद पक्ष रहेको बताए ।

पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकलाई कुनै पनि घटना संकलन गर्न भौगोलिक विकटताले समस्या भएको थियो भने ।

प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानव अधिकार उल्लंघन भएको चर्चा गर्दै त्यस्ताखाले घटना यहाँ नभएको उल्लेख गरे । यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढीपहिराबाट समस्या झेल्दै आएका घटनालाई पनि इन्सेकले अभिले गर्नु थप सराहनीय कार्य भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य छक्क रोकायाले बताए ।

प्रतिक्रिया