मंगलबार, फागुन १९, २०८२

छोराको पर्खाइमा वृद्धा श्यामसुन्दरी

मेरोन्यूज २०७८ मंसिर १३ गते १७:५०

दमक । झापाको कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरा अमृतबहादुरको बाटो हेरेको दुई दशक नाघ्यो । मजदूरी गरेर जीविका चलाउँदै आएको परिवारको कान्छो छोरा रोजगारीका लागि माल्दिभ्स गएका र हालसम्म नर्फिएपछि वृद्धा श्यामसुन्दरीको मन पिरोलिँदै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश गएका छोरा यतिका वर्षसम्म सम्पर्कविहीन हुँदा परिवारमा नै पिर परेको उनले बताइन् । बस्नेत परिवारका छ छोरामध्ये अमृत कान्छा हुन् । अरु दाजु गाउँघरमा आ–आफ्नै काममा छन् । वृद्धा श्यामसुन्दरीका अनुसार आमाबाबु पाल्ने जिम्मेवारी कान्छा छोराको भागमा थियो । काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर विदेश गएको २० वर्ष पुगिसक्यो । त्यस बेला उनका छोरा १० महिनाका थिए । ती छोरा पनि अहिले २० वर्षका भइसकेका छन् ।

“आम्दानीको दिगो स्रोत खासै थिएन, कृषि मजदूरी गरेर परिवार धान्दै आएका थिए, विदेश गएर पैसा कमाउने र आएर पक्की घर बनाउने सपना थियो”, वृद्धा आमा श्यामसुन्दरीले भनिनु, “छोरो गएको नौ महिनापछि छोराले काम छोड्यो भन्ने खबर आयो, काम छोडेपछि त घरै आउला नि भन्ने थियो, विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो, छोरो आउला आउला भन्दाभन्दै बाबु पनि बिते, अहिले बूढेसकालमा एक्लै भएको छु ।”

श्रीमान् बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उनकी श्रीमती पनि १४ वर्ष बसिन् । त्यसपछि विदेशिएको श्रीमान् बेखबर भएपछि उनले अर्कैसँग विवाह गरिन् । छोरा बेखबर भएको घटना गाउँघर, स्थानीय सरकारका प्रतिनिधिसँग गुहार गरे पनि कतै पनि सुनुवाइ नभएको वृद्धा आमाले पीडा सुनाइन् ।

युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खबर सुन्दा वृद्धा आमालाई पनि आस आउँछ । यस्तो खबर सुन्दा हराएको छोरो पनि कतै भेटिएला कि भन्ने आशा बढाउने उनले बताइन् । गाउँघरका छोराछोरी विदेश गएर फर्किएको उहाँले घरवरिपरी आफनै आँखाले नजिकैबाट देखेकी छन् ।

छोरा विदेश गएको म्यानपावर कम्पन्नीकाबारेमा समेत बस्नेत परिवारलाई थाहा छैन् । भएको जग्गा बेचेर विदेश पठाएको छोरा कुन कम्पनीबाट त्यहाँ पुगे र अवस्थाबारे वर्षोदेखि बस्नेत परिवार बेखबर छ ।

प्रतिक्रिया