मंगलबार, फागुन १९, २०८२

छोराछोरी खोज्दै आमा काठमाडौँमा

मेरोन्यूज २०७८ मंसिर १७ गते १७:१७

डोटी । डोटीको सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गंगादेवी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरि माग्न काठमाडौँ पुगेकी छन् । विसं २०५७ मा नाबालक छोरा नरेशबहादुर तथा छोरी दुर्गाकुमारीलाई बालमन्दिरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका तथा हाल गोदावरी नगरपालिका–८ जमुनाझाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेवी सिंहले लगेकी थिइन् ।

Advertisement
nepal life insurencenepal life insurence

गंगादेवीका ती नाबालक छोराछोरीलाई नेपाल बाल संगठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा भर्ना गरेको र पछि ती बालबालिका नेपाल बाल संगठनले दुई वर्ष राखी छोरी दुर्गालाई विसं २०५९ मा स्पेनका नागरिक मार्ता कम्पीलिटको धर्मपुत्रीका रुपमा तथा छोरा नरेशलाई विसं २०५८ मा इटालीका नागरिक त्रिभिरी फरेन्स्को र बुज्जेरो अन्ना इम्लियालाई धर्मपुत्रका रुपमा पठाएको नेपाल बाल संगठनको रेकर्डमा देखिएको छ ।

ती बालबालिका हालसम्म पनि आमाको फोन सम्पर्कमा नआएपछि ७० वर्षीया गंगादेवी आफ्ना छोराछोरीको अवस्था बुझिदिन अहिले काठमाडौँ पुगेकी हुन् । घरमा अन्य परिवारका सदस्य नभएको र छोराछोरीको पनि अवस्था वर्षौंसम्म अज्ञात रहेका कारण उनीहरुको अवस्था बुझ्नका लागि आफू काठमाडौँ पुगेको गंगादेवीले बताइन् ।

उनले भनिन्, “निःशुल्क पढाउँछौँ भनेर छोराछोरी घरबाट ल्याए, अहिले उनीहरु काँ छन्, के गर्दैछन्, कुनै अत्तोपत्तो छैन, म मर्ने अवस्थामा पुगी सके, मेरा छोराछोरीसँग मेरो भेट गराइदिनु पर्‍यो ।” गंगादेवीका छोराछोरी बाल संगठनको जिम्मा दिने उनकी भान्जी नाता पर्ने जगत्रादेवीले ती बालबालिका अहिले कहाँ छन् आफूलाई पनि जानकारी नभएको बताउँदै आएको पीडित आमाको गुनासो छ ।

गंगादेवीले भनिन्, “भान्जीले पनि मलाई बालबालिका कहाँ छन्, जानकारी छैन सबै मिलेर खोजौँ भन्छिन्, म बूढी मान्छे कहाँ खोजौँ, मेरो अवस्था यस्तो छ ।”

नरेश तथा दुर्गाकुमारीलाई पढाउने जिम्मा लिई पछि धर्म सन्तानका रुपमा स्पेन र इटालीका नागरिकलाई जिम्मा दिने नेपाल बाल संगठन केन्द्रीय कार्यालय बालमन्दिर नक्सालमा समेत ती बालबालिकाका बारेमा थप कुनै खबर आएको रेकर्ड छैन । सो संगठनका अध्यक्ष विद्या न्यौपानेले २१ वर्ष अगाडि ती बालबालिका बाल संगठनमा भर्ना गरेको तथा उनीहरु स्पेन र इटालीमा पठाइएको भन्ने रेकर्ड मात्रै आफू कहाँ भएको बताइन् ।

उनले भनिन्, “आफ्ना छोराछोरीको अवस्था बुझ्नका लागि आमा गङ्गादेवी आउनुभएको थियो, नरेश र दुर्गालाई स्पेन र इटालीका नागरिकले धर्मपुत्रका रुपमा लगेको भन्ने रेकर्ड छ, बाँकी हामीसँग अन्य कुनै कागजपत्र छैन, बालबालिका खोजी गर्नका लागि हामी पनि पहल गर्छौं ।”

हालसम्म अवस्था अज्ञात रहेका ती बालबालिकाको खोजीका लागि महिला तथा बालबालिका मन्त्रालयबाट पहल गरे चाँडो पत्ता लाग्ने अध्यक्ष न्यौपानेले जानकारी दिइन् । वर्षौंदेखि अवस्था अज्ञात रहेका आफ्ना छोराछोरीको खोजीका लागि आमा गंगादेवीले विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, अधिकारकर्मीलगायत सबैमा आग्रह गरेकी छन् । दुई छोराछोरीको अवस्था वर्षौंदेखि अज्ञात रहेपछि अहिले गंगादेवी साहराविहीन भएकी छन् । रासस

प्रतिक्रिया