सोमबार, पुष २८, २०८२

ओमिक्रोन पुष्टी भएका दुबै विदेशी स्वास्थ्यकर्मीको निगरानीमा

कन्ट्याक्ट ट्रेसिङमा परेका ६६ जनाको रिपोर्ट नेगेटिभ

मेरोन्यूज २०७८ मंसिर २० गते १८:२०

काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका दुबै विदेशी नागरिक स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको आज सार्वजनिक भएको थियो ।

नेपाल आएका दुई विदेशी नागरिकलाईं ओमिक्रोन पुष्टी भएपछि कन्ट्याक्ट टे«सिङ गरेर सबैको परीक्षण गर्दा ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो भएको मन्त्रालयका सह प्रवक्ता अधिकारीले बताए ।

संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको पनि उनले बताए ।

सह–प्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए ।

नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भेरियन्ट अहिलेसम्म ३५ वटा देशहरुमा ५७४ जनामा पुष्टि भएको अधिकारीले जानकारी दिए ।

नेपाल विदेशबाट आउने मानिसहरुमा स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने भएकाले उनीहरुबाट अरु व्यक्तिलाई सार्न सक्ने कुरालाई मध्यनजर गरेर निगरानी बढाएको उनले जानकारी दिए ।

सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको उल्लेख गरे । यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको पनि उनले जानकारी दिए ।

सहप्रवक्ता अधिकारीकाअनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका संक्रिमित बढीरहेकोले नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताए ।

नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा संक्रमण बढ्नबाट रोक्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया