बिहीबार, वैशाख १०, २०८३

बहसमा कांग्रेस

नेपाली कांग्रेस : घुम्दै-फिर्दै सत्तामा

२०४७ साल पछिका ३१ वर्षमा कांग्रेस आफ्नै नेतृत्वमा १६ वर्ष ४ महिना सरकारमा

शित्तल शर्मा । काठमाडौं २०७८ मंसिर २५ गते ६:२९

कांग्रेस सभापति शेरबहादुर देउवा उमेरले ७५ वर्ष पुगे । शुक्रबारदेखि १४ औँ महाधिवेशन शुरु गरेको देशकै पाको पार्टी कांग्रेसको उमेर पनि ठ्याक्कै देउवाको जति नै पुगेको छ । २०७२ फागुनयता कांग्रेसको नेतृत्व पनि देउवासँगै छ ।

Advertisement
NiccNicc

देउवाको उमेरभन्दा ठिक ८ महिनामात्रै कान्छो कांग्रेसको नेतृत्व लिनका लागि फेरि देउवा नै कस्सिएका छन् । अर्थात्, देउवा ३१ जेठ २००३ मा जन्मे भने कांग्रेस सोही वर्ष १२-१३ माघमा ।

मुलुककै जेठो पार्टीमा कान्छा प्रतिनिधिहरुको यसपटक उत्साहजनक सहभागिता छ । तर, फेरि पार्टीको नेतृत्वमा पुग्न भने ७० कटेकै नेताहरूको दौड तीव्र छ ।

उल्लेख्य संख्यामा किशोर र युवा उमेरका प्रतिनिधि छानिएर आए पनि कांग्रेसमा नेतृत्वको अनुहार भने २०४६ सालदेखि एउटै देखिँदैछ । अर्थात कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा या रामचन्द्र पौडेल ।

आज, यिनै नेताहरुका बीचमै कांग्रेस छ । गिरिजा, सुशीलहरु हुँदासम्म पार्टी नेतृत्वमा रहे । अहिले ७५–७६ उमेर समूहका देउवा र रामचन्द्र पौडेल पार्टी नेतृत्व लिने दौडमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका भनाईमा, यसपटक देशभरबाट चुनिएका करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा भाग लिँदै छन् । त्यसमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या ३० प्रतिशत अर्थात् २ लाख ३५ हजार छ । त्यस्तै ५० वर्ष मुनीका हिसाब गर्ने हो भने यो संख्या ५० प्रतिशत छ ।

एकातिर कांग्रेसमा किशोर र युवा उमेरका प्रतिनिधिले बाहुल्य जमाउन खोजेका छन । तर, पार्टी र सत्ताको नेतृत्वमा भने बुढाहरुकै जगजगी छ । सत्ताको बागडोर सम्हाल्ने मौका घुमिफिरी आइरहँदासमेत कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न नसकेको आरोप खेप्दै आएको छ ।

२०४७ को परिवर्तनपछिका ३१ वर्षमा कांग्रेस आफैले १६ वर्ष ४ महिना सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । अहिले पनि सरकारको नेतृत्वमा कांग्रेस नै छ । झण्डै–झण्डै ०७४ सालको निर्वाचन परिणामले कांग्रेसलाई नराम्रोसँग खुम्चाइसक्दा समेत कम्युनिष्टहरुको फुट र विभाजनले फेरि कांग्रेसलाई तंग्रिने मौका दिएको छ । केन्द्रदेखि प्रदेशसम्मका सरकारमा फेरि उसले अड्डा जमाउने मौका पाएको छ ।

सम्मुखमै अब स्थानीय तहको चुनाव, प्रदेश र केन्द्रका चुनाव छन् । यही पृष्ठभूमिमा कांग्रेसले पार्टीको महाधिवेशन आयोजना गर्न लागेको छ । तर कांग्रेसले आफ्नो विगतलाई समीक्षा गर्नेतिर ध्यान दिन नसकेको कांग्रेसकै कतिपय विश्लेषकहरुको टिप्पणी सुनिन्छ ।

कांग्रेसका नेताहरूका सिद्धान्तहीन मतभेद अनि स्वार्थ, महत्त्वाकांक्षा र अहंको टक्करले एउटै दल भए तापनि दुई वा दुईभन्दा बढी दलको मोर्चाजस्तो गरी कांग्रेस चलिरहेको छ । गत महाधिवेशनयता त झन नराम्रोसँग कित्ताकाँटकै रुपमा चलेको छ । त्यो मौलाउने र झाँगिने अवसर यसपटक गाउँ, क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्मको निर्वाचन परिणामले देखाइसकेको छ । अब केन्द्रको प्रतिस्पर्धाले त्यसलाई थप गुटबन्दीतिर लैजाने देखिएको छ ।

यसले कांग्रेसमा सिद्धान्तभन्दा पनि कसरी नेतृत्व कब्जा गर्ने भन्नेतिर नेताहरुको ध्यान केन्द्रीत देखिन पुगेको छ । ०६४ असोजमा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकीकरण हुँदा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसभित्र ६०-४० को भागबन्डा पार्टीमा भित्र्याइदिए । त्यही भागवन्डाको मापदण्ड कांग्रेसमा आज पनि जिवितै छ । महाधिवेशनमा समूह बनाएर प्रतिस्पर्धा गर्ने र जित्नेसँग हार्नेले त्यसैका आधारमा भागवन्डा र सौदावाजी गर्ने रोग कांग्रेसमा संस्थागत भइसकेको छ ।

तर सत्तामा हुँदा होस् या प्रतिपक्षमा जनताका जनजीविकासँग चासो राखेर काम गर्न नसक्दा पटक–पटक चुकेको छ । गत निर्वाचनमा अस्वभाविक पराजित हुँदासमेत उसले प्रतिपक्षमा रहेर ‘निर्णायक खबरदारी’ गर्न बारम्बार चुक्यो । कम्युनिष्ट सरकारले मन लाग्दी गर्दा, दुई-दुई पटक संसद विघटन गर्दासमेत कम्युनिष्ट दलले नै नबोल्दा र ढाढस नदिँदासमेत कांग्रेस मुकदर्शक मात्रै बनेको आरोप लाग्यो ।

आफैले वकालत गर्दै आएको लोकतन्त्रको मूल्य-मान्यता र आदर्शको दुहाई दिने कांग्रेस राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता तथा बहुलवाद, संसदीय लोकतन्त्र, न्यायिक सर्वोच्चता, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, मानवाधिकारजस्ता मूल्य-मान्यताको पक्षमा ‘हस्तक्षेप’कारी नीति लिनै सकेन । यसले कांग्रेसलाई सत्तामा भएपनि प्रतिपक्षमा भएपनि जनतासँग जोडन सकेन ।

अहिले पनि कांग्रेस सत्तामै छ । आफ्नै नेतृत्वमा सरकारमा रहेको कांग्रेसले जनताको मन जित्ने काम गर्न चुकेको छ । दैनान्दिनका मोलहिज्जामा मात्र रमेको आरोप कांग्रेसलाई लागेको छ । युवापुस्ताले देखिने, सुनिने र बुझिने कांग्रेसको वकालत गरेपनि बुढो कांग्रेस हाक्न तम्सेका बुढा नेताबाट फेरि उही पार्टी सत्ता कब्जा गर्ने र सरकारको तालाचाबीमा आफ्नो पहुँच कसरी सुरक्षित गर्ने भन्नेबाहेक अर्काे बहसमा देखिदैनन् ।

३१ वर्षमा साढे १६ वर्ष सत्तामा

०४७ यता मात्रै कांग्रेस ३१ वर्षमा १६ वर्ष ४ महिना सरकारको नेतृत्वमा छ । अहिले पनि कांग्रेसले नै सरकारको नेतृत्व गरिरहेको छ । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र शेरबहादुर देउवा ४ जना नेताले मात्रै यति लामो समय सरकारको नेतृत्व सम्हालेका हुन् ।

गिरिजा र देउवाले त प्रधानमन्त्री हुने अवसर ५ पटकसम्म पाए । गिरिजाले ५ पटकमा गरेर सबैभन्दा बढी ८ वर्ष ४ महिना शासनको बागडोर सम्हाल्ने अवसर पाए । उनले १२ जेठ २०४८ देखि १४ मंसिर २०५१ सम्म २ वर्ष ६ महिना, २ वैशाख ०५५ देखि १७ जेठ २०५६ सम्म १ वर्ष २ महिना, ९ चैत ०५६ देखि ११ साउन ०५८ सम्म २ वर्ष ४ महिना, १२ वैशाख ०६३ देखि १५ जेठ ०६५ सम्म २ वर्ष १ महिना र संविधानसभाको चुनावपछि गणतन्त्र घोषणापछि १५ जेठ ०६५ देखि २ भदौं ०६५ सम्म ३ महिना गरी साढे ८ वर्ष जति सरकारको नेतृत्व सम्हाले ।

त्यस्तै, कृष्णप्रसाद भट्टराई २ पटक प्रधानमन्त्री बन्न पाए । उनले ६ वैशाख ०४७ देखि १२ जेठ ०४८ सम्म १ वर्ष १ महिना र १७ जेठ ०५६ देखि ९ चैत ०५६ सम्म ९ महिना गरी १ वर्ष १० महिना सरकार चलाउन पाए ।

त्यसपछिका कांग्रेसका अर्का प्रधानमन्त्री बन्ने मौका पाएका सुशील कोइरालाले एक पटक २८ माघ ०७० देखि २४ असोज ०७२ सम्म १ वर्ष ८ महिना सरकार चलाए । देउवाले भने २७ भदौं ०५२ देखि २९ फागुन ०५३ सम्म १ वर्ष ६ महिना, ११ साउन ०५८ देखि १८ असोज २०५९ सम्म १ वर्ष २ महिना, २१ जेठ २०६१ देखि १९ माघ ०६१ सम्म ८ महिना र २४ जेठ ०७४ देखि ३ फागुन २०७४ सम्म ९ महिना सरकार चलाईसकेका थिए । अहिले फेरि २९ असार २०७८ यता उनी निरन्तर प्रधानमन्त्रीका रुपमा छन् ।

तर, सधै किन कमजोर ?

सरकारको नेतृत्वमा ३१ वर्षको बीचमा झण्डै आधाभन्दा बढी समय आफै बसेको कांग्रेसको जनमत भने खस्कदो छ । ०१५ को आमचुनावमा कम्युनिस्ट पार्टीलाई जम्माजम्मी ४ सिटमा खुम्चाउन सकेको कांग्रेसले पछिल्लो पटक भने बामपन्थीको जनमतलाई खुम्चाउन सकेको छैन ।

कांग्रेसको कुल मत ३२.७८ प्रतिशत गत प्रदेश तथा केन्द्रको चुनावमा देखिँदा एमाले एक्लैको उसको भन्दा बढी ३३.२५ प्रतिशत मत आएको थियो । तर अहिले परिस्थिती त फेरिएको छ । कम्युनिष्टहरुले त्यसबेला जुटेर कांग्रेससँग भिडेका थिए, तर अहिले विभाजित भएका छन् ।

कम्युनिष्ट विभाजनबाट मात्र सत्तामा पुग्न सक्ने अवस्थामा पुगेको कांग्रेसको अहिले कम्युनिष्ट विभाजन हुँदासम्म अब कांग्रेसले जनमत सबै बटुल्छ भन्ने जनाधार र विश्वास जनताका बीचमा छोड्न सकेको छैन । यसो किन भइरहेको छ त ? कांग्रेसकै कतिपय नेताहरु विश्लेषण गर्छन,- कांग्रेसको नेतृत्व नै जनभावना बुझ्ने, देखिने खालको भएन । जसकाकारण कांग्रेसले लिन सक्ने अवसर पनि गुमाइरहेको छ । अहिले सत्तामा देउवा छन् । तर चुनाव सम्मुखमा रहेको सरकारले काम गरेर जनमत लिनेभन्दा सरकारमा बसेर झन जनमत भड्काउने मात्र गरिरहेको आरोप कांग्रेसभित्रै लागेको छ ।

यसले कांग्रेसलाई सुधार्ने भन्दा पनि यथास्थितिमै रुमल्याउने बुझाई कांग्रेसकै कतिपय नेताको छ । तर अब यो महाधिवेशनले कांग्रेसमा कस्तो परिवर्तन दिन्छ ? यसले कस्तो खालको नीति निर्माण गर्छ र नेतृत्व चयन गर्छ ? अहिले सबैको चासो त्यतै छ । कांग्रेसका युवा नेता गगन थापा भन्छन्, ‘आजको अवस्थामा कांग्रेसले पार्टीका सदस्यलाई सामान्य कुराहरू मात्रै गरेर, देखाएर हुँदैन । अब यो पार्टीका लागि नयाँ सपना र नयाँ संकल्प चाहिएको छ, जसले नाै लाख सदस्यहरूलाई जुरुक्कै उठाउन सकोस् । महाधिवेशन त्यसैमा केन्द्रीत हुन जरुरी छ ।’

०००

प्रतिक्रिया