मंगलबार, पुष ८, २०८२

पहिलो चरणमा बहुमत नपुग्नेः दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिष्पर्धाकाे सम्भावना

मेरोन्यूज २०७८ मंसिर २८ गते ७:४६

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमवार मध्यरातमा सम्पन्न मतदानको ५० प्रतिशत मत गणना हुँदा कसैलाई पनि बहुमत नपुग्ने देखिएको छ ।

महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ ।

सभापति पदमा बहुमत ल्याउनका लागि २ हजार ३ सय ४० मत कटाउनुपर्ने हुन्छ । तर अहिलेसम्म ५० प्रतिशत बढी मत गणना हुँदा सो संख्या पुग्ने सम्भावना कम देखिएको छ ।

मंगलबार विहानबाट भएको मतगणनाअनुसार अहिलेसम्म ३९७७ मत गन्दा शेरबहादुर देउवाको पक्षमा १९०० मत आएको छ भने शेखर कोइरालाको पक्षमा १४६७ मत प्राप्त भएको निर्वाचन समितले जनाएको छ ।

यस्तै, तेस्रो स्थानमा देखिएका प्रकाशमान सिंहले २९६ मात्रै पाएका छन् भने बिमलेन्द्र निधिले २३० मत ल्याएका छन् । अन्तिममा रहेका कल्याण गुरुङको मत नगन्य छ । उनले अहिलेसम्म २० मत मात्रै प्राप्त गरेका छन् । अहिलेसम्मको परिणामअनुसार देउवाले ४७ प्रतिशत मत प्राप्त गरेका छन् ।

सभापति पदका पाँचै जना उम्मेदवार मध्ये कसैलाई बहुमत नपुगेमा बढी मत ल्याउने दुई जनाबीच पुनः प्रतिष्पर्धा हुनेछ । अहिलेसम्मको परिणामअनुसार अबको दोस्रो चरणमा देउवा र कोइरालबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

दोस्रो चरणमा संस्थापन इतरका प्रकाशमान, निधि र गुरुङले कसलाई साथ दिन्छन्, त्यो निर्णायक बन्नेछ ।

प्रतिक्रिया