शुक्रबार, पुष ११, २०८२

सशस्त्रमा दुई डिआइजीलाई बढुवा गर्न एआइजी दरवन्दी थप गर्ने प्रयास

मेरोन्यूज २०७८ पुष ३ गते १९:१३

काठमाडौं । नेपाल प्रहरीका एआइजीको दरवन्दी थप गर्ने हल्ला चलिरहेको बेला सशस्त्र प्रहरीमा दुई डिआइजीका लागि एआइजीको दरवन्दी बढाउने प्रयास भएको छ । कांग्रेस महाधिवेशन सकिएलगत्तै गृहमन्त्री बालकृष्ण खाँडसँग एआइजीको दरवन्दी थप गर्ने विषयमा छलफल गरिएको छ । सशस्त्र प्रहरीका दुई डिआइजीलाई एआइजी बनाउन लविङ भैरहेको स्रोतले जनाएको छ ।

‘नेपाल प्रहरीमा एआईजीको दुई दरबन्दी थपिएको नजिर देखाउँदै सशस्त्र प्रहरीमा पनि एआईजी थप्ने चलखेल भएको छ, तल्लो तहमा दरवन्दी थप गरेर सीमा सुरक्षामा खटाउनु पर्नेमा दुई व्यक्तिका लागि दरवन्दी थप गर्न गृहमन्त्रीदेखि शक्ति केन्द्रसम्म उनीहरु लिभङमा लगेका छन्’, स्रोतले भन्यो । माघ २७ मा डिआइजीको पाँचव वर्षे पदावधि सकिनुअघि दुई डिआइजीहरु मन्दीप श्रेष्ठ र खड्ग राईले सो प्रयास गरेका हुन् । विगतमा पनि सशस्त्र प्रहरीमा दरवन्दी बढाएर केही डिआइजीहरुलाई एआइजी बनाएको नजिर पेश गर्दै उनीहरुले कांग्रेसभित्रको शक्तिकेन्द्र प्रयोग गरी एआइजीको दरवन्दी थप गराउने प्रयासमा लागेको सशस्त्र प्रहरी मूख्यालय स्रोतले जनाएको छ । ‘ डिआइजी खड्ग राइका लागि अख्तियारका प्रमुख प्रेम राइको पनि आर्शिवाद रहेको छ’, स्रोतको दावी छ ।

मूख्यालय स्रोतका अनुसार सशस्त्र प्रहरीमा एकेडेमीमा एआईजी थप्नका लागि लबिङ भइरहेको छ । तर, संगठनको तर्फबाट भन्दा व्यक्तिगत रुपमा यस्तो दौडधुप भइरहेको छ । हाल सशस्त्रको व्यवस्थापन तथा संगठन सर्वेक्षण भइरहेको छ, त्यही क्रममा केही दरबन्दी थपघट गर्न लागिएको स्रोतले जनाएको छ । ‘सर्वेक्षण भैरहेको छ तर अहिलेनै दरवन्दी थप गर्न होइन फागुनपछि मात्रै यो प्रकृया शुरु हुन्छ’, सशस्त्रका एक अधिकारीले भने । तर डिआइजी श्रेष्ठ र राई भने कांग्रेस नेताहरु र विभागकै एक अधिकृतकाे समातेर गृहमन्त्री खाँडसँग दरवन्दी थप गर्न लागि सबै प्रयत्न गर्न थालेका छन् ।

डिआईजीको पाँच वर्षे पदावधिका कारण माघ २७ गते उनीहरूले अवकाश पाउँदैछन् । अहिले एआईजी भएमा बैशाखमा आईजिपीको समेत दाबेदार हुने भएकाले उनीहरू दौडधुपमा लागेका हुन् । यसअघि आईजिपीका दाबेदार मानिएका सुरज श्रेष्ठ र प्रवीण श्रेष्ठले डिआईजीकै नियमित पदावधि नथपिदा अवकाश पाएका थिए ।

आगामी चैतमा महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउनेछन् । त्यसपछि एआईजी पुष्पराम केसीले दुई हप्ता संगठनको नेतृत्व गर्नेछन् । केसीपछि डिआईजीबाट सिधैं आईजिपी हुने सम्भावना सशस्त्रमा देखिएको छ । त्यसपछि दाबेदारहरू अहिलेसम्म डिआईजी नै छन् । राजु अर्याल, नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम महानिरीक्षकको प्रतिस्पर्धामा छन् । पौष महिनाभित्रै उनीहरुले दरवन्दी थप गर्ने प्रयासमा लागेका कारण अहिलेका डिआइजी त्रय तत्काल एआइजी थप गर्ने पक्षमा छैनन । आइजीपी खनाल भने सरकारले निर्णय गर्ने तहमा पुगेमा रोक्ने पक्षमा छैनन । ‘सरकारले नै दबाब दिए मात्रै तर आफै प्रस्ताव लिएर जाने पक्षमा छैनन’, स्रोतले भन्यो ।

सशस्त्र प्रहरीमा आइजीपी खनालपछि पुष्पराम केसी केही दिन आइजीपी भएर विदा भएपछि अर्याल र पौडेल मध्ये एक आइजीपी हुनेछन् । नेपाली सेनाबाट आएका गौतम भने यो दौडमा निकै पछि रहेको स्रोतको दावी छ । अन्र्तमुखी स्वाभावका गौतमले एमालेकै सरकार भएको भए झापा, तेह्रथुमको सोर्स देखाएर लविङ गर्न सक्ने अवस्था देखिएपनि कांग्रेस सरकार आएपछि भने गौतमले नयाँ सुत्र खोज्नुपर्ने भएकाले आइजीपी हुन कठिन रहेको बताइन्छ । सुर्खेतका डिआइजी पौडेल भने अहिलेको शक्तिकेन्द्रसँग निकै नजिक रहेका र उनले अर्याललाई चुनौती दिनसक्ने भएकाले यसपटक पौडेलको संभावना बढेको पनि स्रोतको दावी छ । तर अर्यालपनि राजनीतिक शक्तिसँग नजिक भएकाले उनी कमजोर पात्र भने होइनन । आइजीपीको प्रतिस्प्र्धाका लागि अर्याल र पौडेल दुवै शशक्त पात्र हुन् ।

प्रतिक्रिया