बिहीबार, पुष १०, २०८२

एमाले अदालतको मर्यादाविपरीत पार्टी हो : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ पुष ५ गते ६:३१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, संघीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको बताएका छन् । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा उनले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लंघन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताएका हुन् ।

देश विकासका लागि मुलुकमा रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्मका पार्टीप्रति जनताको आकर्षण बढेको र पार्टी प्रवेशमा जनलहर देखा परेको दाबी गरेका थिए ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको आवश्यकताअनुसार शिक्षा क्षेत्रमा विकास गरी दक्ष जनशक्तिलाई उत्पादनमा जोड्नु पर्ने बताए । पार्टीका नेता मुकुन्द न्यौपानेले शिक्षालाई व्यापारीकरण गर्न राजनीतिज्ञले पनि निजी क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै खराब मनाशयबाट यस क्षेत्रमा हुने राजनीतिलाई न्यूनीकरण गर्न उनीहरूका संलग्नतालाई रोक्नु पर्ने विचार व्यक्त गरे ।

पार्टीका पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले संविधानको मौलिक हकमा शिक्षाको अधिकार प्रत्याभूत गरिएको भए पनि सर्वसुलभ गुणस्तरीय शिक्षा प्राप्ति आम नागरिकको पहुँचमा पुग्न नसकेकाले सरकार संवेदनशील हुनु पर्ने बताए ।

प्रतिक्रिया