बिहीबार, जेठ १, २०८२

हुम्लाका बालबालिकालाई आज कोरोनाविरुद्ध खोप लगाइँदै

मेरोन्यूज २०७८ पुष ५ गते १०:१०

काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार पाँच सय बढी मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु भए पनि जिल्लामा आजदेखि लगाउन सुरु हुन लागेको हो ।

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोर्डना खोप खोप केन्द्रमा पठाएको छ । आइतबारदेखि खोप लगाउने भए पनि प्राविधिक समस्याले खोप गाउँमा पठाएर सोमबारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन अशिस्डेण्ड मानबहादुर रोकायाले जानकारी दिए ।

खार्पुनाथ ७२०, ताँजकोट ८३०, नाम्खा ५५०, अदानचुली एक हजार ८० र डाडाफया स्वास्थ्य चौकीमा ३५० खोप पठाइएको उनले बताए । खोपसहित आवश्यक पर्ने सामग्री सबै तयारी पूरा हुनुका साथै आजबाट जिल्लाका बालबालिकालाई मोर्डना खोप एक साथ दिइने भएको छ ।

उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य सबै वडामा खोप लगाइने भएको उनले जानकारी दिए । लिमीमा चिसो र हिमपात भएकाले स्वास्थ्यकर्मी पुग्न नसक्ने हुँदा यहाँका बालबालकालाई न्यानो भएपछि मात्रै खोप लगाइने भएको हो ।

जिल्लाको सात गाउँपालिकाका विभिन्न स्थानमा गरी ७८ खोप केन्द्र रहेको कार्यालयले जनाएको छ । जिल्लामा रहेका नौ हजार नौ सय ४० मा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि जिल्लामा छ हजार ३ सय ७० डोज मात्रै आइपुगेको उनले जानकारी दिए ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका ५ र ६ सहित बजारका बालबालिकाका लागि खोप लगाइने भएको छ ।

प्रतिक्रिया