बिहीबार, फागुन २८, २०८२

कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति दिइने

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र कलेजबीच सम्झौता

मेरोन्यूज २०७८ पुष १२ गते १७:३४

काठमाडौं । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो ।

महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ । कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्तारक्षर गर्दै आदान प्रदान गरे । यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ ।

सम्झौता अनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताए ।

उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत् कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आवद्ध पत्रकारहरुबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए ।

सम्झौता आदानप्रदान कार्यक्रममा कलेजका निर्देशक मीना खत्रीले महासंघ प्रतिष्ठान प्रदेश समितिसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । उनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमका लागि प्रतिष्ठान प्रदेशसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्।

कलेजका प्रिन्सिपल राजु कट्टेलले महासंघसँगको सहकार्यले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले पत्रकारहरुलाई आईसीटी तालिमका लागि पनि महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

‘महासंघ प्रतिष्ठान प्रदेशसँगको सहकार्य लामो समयसम्म होस् भन्ने चाहना छ । तपाईंहरुको कार्यकालमा भएको यो कामले इतिहास् रचोस् भन्ने शुभकामना दिन चाहन्छु ।’– प्रिन्सिपल कट्टेलले भने ।

कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले आफू कान्तिपुर सिटी कलेजको पूर्वविद्यार्थी भएको स्मरण गरे । उनले आफूले अध्ययन गरेको कलेजसँग सहकार्य गरेर पत्रकारिता पढ्न चाहनेहरुका लागि सहुलियतको व्यवस्था गर्न पाएको खुशी व्यक्त गरे ।

‘यसले पत्रकारिता पढ्ने चाहना भएका तर, आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका पत्रकारहरुका लागि ठूलो सहयोग पुग्ने भन्ने विश्वास छ’, अधिकारीले भने, ‘आगामी दिनमा पत्रकारितासँग सम्बन्धित अन्य कामका लागि पनि केलजसँग समन्वय र सहकार्य हुनेछ भन्नेमा आशावादी छु ।’

सम्झौता कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धरसमेत उपस्थित थिए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया