सिके राउतका कार्यकर्ताद्वारा जोखिम बढेकाले सिरहामा दुई दिन निषेधाज्ञा

काठमाडौँ । स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालले सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले भोलि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए । सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ कवारीको विज्ञप्तिमा उल्लेख छ ।
जनमत पार्टीले केही दिनअघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी आज बिहान ५ देखि भोलि बेलुका ७ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायका क्षेत्रहरूमा निषेधाज्ञाको आदेश जारी गरिएको प्रजिअ कवारीले बताए । सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुरु रहने र आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले गत आइतबारदेखि सिरहा बन्दको आह्वान गरेको हो ।
झुटो मुद्दामा पक्राउ गरेका किसानलाई रिहा गर्नुपर्ने मागसहित जनमत पार्टीले बन्द र हड्ताल गर्दै आएका छन् । सो क्रममा जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा एउटा ट्रक जलाएका थिए भने दुई दर्जन सवारीसाधनमा तोडफोड गरेका थिए ।
















म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया