सोमबार, वैशाख ७, २०८३

सहिद स्मारक ए डिभिजन लिग : थ्रि स्टारको दोस्रो जित

मेरोन्यूज २०७८ पुष १७ गते १६:०५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारले पछिल्लो चार खेलदेखिको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा थ्रि स्टारले छिमेकी प्रतिद्वन्द्धी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्रि स्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई नतिजा सुम्पिएको थियो । थ्रि स्टार तेस्रो खेलमा फ्रेन्डस क्लब, चौथो खेलमा एपीएफ, त्रिभुवन आर्मी क्लब र एनआरटीसँग अंक बाँडेको थियो । 

थ्रि स्टारका लागि आयुष घलान र ऋतिककुमार खड्काले समान एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले एक गोल गरे । सातौँ मिनेटमा आयुषले थ्रि स्टारको लागि गोल खाता खोलेका थिए । आयुषले संजोग राईको पासलाई जाली चुमाएका थिए । फ्रेन्डसविरुद्ध मिडफिल्डर मिक्चेन तामाङले गरेको गोलपछि थ्री स्टारका खेलाडीले बललाई पोस्टको दिशा दिएको यो नै पहिलो पटक थियो ।

त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । ओनगुना जुनियर थ्रि स्टारका गोलकिपर प्रिसोसँग वान भर्सेस वानमा गोल गर्न चुके । २५औँ मिनेटमा संजोगकै पासमा ऋतिकले गोल गर्दै थ्रि स्टारको अग्रता दोब्बर पारेका थिए ।त्यसको तीन मिनेटपछि जावलाखेलका निकोलस फर्नान्डेजको प्रहारमा क्रस बार बाधक बन्यो । 

पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका लोइच एनजिमीले गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । ५५औं मिनेटमा फर्नान्डेजले गोल गर्दै जावालखेलाई फर्काउने संकेत गरे पनि त्यो पर्याप्त भएन । थ्री स्टार सात खेलमा १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेल भने समान खेलमा सात अंक बटुल्दै नवौ स्थानमा यथावत छ ।

खेलपछि बोल्दै जावलाखेल युथका प्रशिक्षक किशोर केसीले खेलाडीले राम्रो खेलेका बताउँदै धन्यवाद दिए । उनले मैदानको कारण खेलाडीले राम्रो खेल्न नसकेका प्रतिक्रिया दिए । ‘आज मैदानका कारण पनि राम्रो खेल्न सकेनौं । खेलाडीले राम्रो खेले धन्यवाद दिन्छु ।’ केसीले भने । 

यता, विजेता टोली थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले चार खेलपछि समयमा गोल हुँदा जित भएको बताउँदै खेलमा भाग्यले समेत साथ दिएको बताए । ‘चार खेलपछि समयमै गोल निस्कियो । स्ट्राइकर समेत नयाँ थियो । जितले खुसी छु । लकले पनि साथ दियो ।’ श्रेष्ठले भने । 

प्रतिक्रिया