सोमबार, पुष ७, २०८२

माओवादी महाधिवेशन

माओवादीलाई केन्द्रीय सदस्य छान्नै सकस

मेरोन्यूज २०७८ पुष १८ गते ७:२३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहमतिबाटै केन्द्रीय समिति चयन गर्न निकै सकस देखिएको छ ।

शनिवार केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन समापन गर्ने कार्यक्रम भए पनि केन्द्रीय सदस्य छान्न सकस भएपछि आइतबार दिउँसो २ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ ।

केन्द्रीय सदस्य छान्नका लागि प्रदेश प्रदेशलाई जिम्मा दिइएको थियो । आज (आइतबार) २ बजेसम्म केन्द्रीय समिति चयन गरी बन्दसत्रमा घोषणा गर्ने योजना नेतृत्व पंक्तिको छ ।

यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।

प्रतिक्रिया