आफ्नै अभिव्यक्ति विपरीत देउवाको पहिलो निर्णय
केन्द्रीय समितिमा मनोनयन कत्तिको न्यायोचित ?

काठमाडौँ । पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलो केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भनेका थिए, -‘म मलाई मत नदिनेहरूको पनि सभापति हुँ । सबैलाई मिलाएर सन्तुलित ढंगबाट अगाडि बढ्छु ।’ तर, उनले आफ्नो त्यो अभिव्यक्ति पहिलो निर्णयमै लत्याएका छन् ।
उनले आफूसँग सभापतिमा कुल मतको ४० प्रतिशत हाराहारीमा मत ल्याएर पराजित भएका डा. शेखर कोइराला समूहका कुनै पनि नेतालाई १० केन्द्रीय सदस्य मनोनय गर्दा पारेनन् । बरु पदाधिकारीमा उठेर लज्जास्पद मत ल्याएर पराजित भएका नेताहरु भने देउवाको नजरमा परे र मनोनित हुने अवसर पाए ।
देउवाले शनिबार पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरे ।
मनोनित भएकामध्य पाँच नेता १४ औं महाधिवेशनमा कुनै पनि उम्मेद्वार नभएका र पाँच जना पराजित नेता छन् । केन्द्रीय सदस्यमा मनोनित पौडेल, सिटौला, डा. खड्का, रेग्मी र विश्वकर्मा १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार बनेका थिएनन् । यी मध्य नेता पौडेल महाधिवेशनको प्रक्रियामा नै सहभागी भएका थिएनन् । नेता विश्वकर्माले दलिततर्फको सहमहामन्त्री पद नपाएको झोकमा दलिततर्फको केन्द्रीय सदस्यमा दिएको उम्मेद्वारी पनि फिर्ता लिएका थिए ।
सिटौला समूहले देउवा प्यानललाई सहयोग गरेको थियो । वर्तमान सरकारमा परराष्ट्रमन्त्री रहेका खड्का देउवा समूहबाट उपसभापतिका दाबेदार थिए । टिकट नपाएपछि कुनै पनि पदमा उनले उम्मेद्वारी दिएका थिएनन् । उनी उदयपुर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद पनि हुन् । वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले आफू उमेरका कारण सक्रिय राजतीतिबाट बाहिरिने बताएकी थिइन् ।
केन्द्रीय सदस्यमा मनोनित सिंह र निधि सभापतिमा पराजित उम्मेद्वार हुन् । सभापतिमा चार हजार ६ सय ७९ मत खसेकोमा निधिले २५० र सिंहले ३७१ मत पाएका थिए ।
सदस्य मनोनित गच्छदार र कोइराला उपसभापतिमा पराजित उम्मेद्वार हुन । गच्छदार धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । उपसभापतिमा गुरुङले एक हजार नौ सय आठ र गच्छदारले एक हजार नौ सय छ मत प्राप्त गरेका थिए । कोइरालाले भने उपसभापतिमा ६४४ मत मात्रै पाएकी थिइन् ।
महत महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा डा. महतले १५५६ मत ल्याएका थिए । दुई महामन्त्री रहने कांग्रेस विधान अनुरुप दोस्रो मत एक हजार नौ सय ८४ मत ल्याएर विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए ।
मनोनित भएकामध्य सबै महाधिवेशनमा देउवालाई सहयोग गरेका र देउवा गुटका हुन् । पहिलो चरणमा सभापतिमा पराजित भएका सिंह र निधिले दोस्रो चरणमा देउवालाई सहयोग गरेका थिए । कोइराला सिंह समूहबाट उपसभापतिकी उम्मेद्वार थिइन् । डा. महत देउवा प्यानलबाट महामन्त्रीका र गच्छदार देउवा प्यानलबाटै उपसभापतिका उम्मेद्वार थिए । सिटौला समूह देउवासँग मिलेर महाधिवेशमा गएको थियो । देउवा प्यानलमा सिटौला समूहबाट महामन्त्रीमा प्रदीप पौडेल, सहमहामन्त्रीमा उमाकान्त चौधरीसहित १२ केन्द्रीय सदस्य निर्वाचन लगेका थिए । तीमध्य महामन्त्रीका उम्मेद्वार पौडेलबाहेक अधिकांश केन्द्रीय समितिमा निर्वाचित भएका छन् । डा. खड्का, रेग्मी र विश्वकर्मा कांग्रेसमा देउवा गुटका नेता भनेर चिनिन्छिन् ।
पौडेलले आफू मौन बसेर देउवालाई जिताउन सहयोग गरेका आरोप कांग्रेसका नेताहरुले लगाइरहेका थिए । उनी पहिलो चरणमै केन्द्रीय सदस्यमा मनोनित भएपछि त्यो एकहदसम्म पुष्टि भएको छ ।
यतिसम्मकी देउवाले १० जना केन्द्रीय सदस्यमा मनोनयन गर्दा आफू इतर समूहबाट प्यानल बनाएर लड्दै ४० प्रतिशत मत ल्याएका शेखर समूहका कुनै पनि नेतालाई केन्द्रीय समितिमा ल्याउन उचित ठानेनन् । उपसभापतिमा ६४४ मत ल्याएकी कोइराला केन्द्रीय समितिमा मनोनित हुँदा एक हजार पाँच सय ८० मत ल्याएका चन्द्र भण्डारी परेनन् ।
यतिसम्मकी एक मतले कर्णाली प्रदेशबाट खुल्ला पुरुषतर्फ पराजित हृदयराम थानी पनि केन्द्रीय सदस्य मनोनयनमा परेनन् । कर्णबहादुर बुढा दुई हजार दुई सय मत ल्याएर विजयी हुँदा थानीले दुई हजार एक सय ९९ मत ल्याएका थिए ।
केन्द्रीय सदस्य मनोनयनबारे शेखर समूहका नेता गुरुराज घिमिरेले देउवाको साझा सभापति बन्ने घोषणालाई खण्डन गरेको बताउँछन् । घिमिरे भन्छन्, ‘नेपाली कांग्रेसको बिधान बमोजिम सभापति शेरबहादुर देउवाले केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । मनोनयनमा पर्नहुने सबै नेताहरुलाई धेरै धेरै बधाई छ । तर यस मनोनयनले सभापतिज्यूको साझा सभापति बन्ने घोषणालाई भने खण्डन गरेको छ ।’
देउवा निकट नेता एनपी साउदले भने सभापति कामले नै साझा सभापति बनेर देखाउने बताउँछन् । ‘सभापति कामले नै साझा सभापति बनेर देखाउनुहुन्छ । बल्ल त सुरुवात हुँदैछ,’ नेता साउदले भने ।









देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया