बिहीबार, वैशाख २४, २०८३

कोभिडविरुद्धको अतिरिक्त मात्राको खोप आजदेखि

मेरोन्यूज २०७८ पुष २० गते ७:१८

काठमाडौँ । सरकारले ६० वर्ष उमेर नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आजदेखि कोभिड १० विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ ।

Advertisement
NiccNicc

आज मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप अतिरिक्त मात्रा सो समूहलाई दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका ६० वर्ष उमेर नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको जानकारी दिए ।

मन्त्रालयकाअनुसार, बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइनेछ । यो बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने खोप भएको अधिकारीले बताए ।

बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ ।

पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ ।

अतिरिक्त मात्रा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइनेछ ।

प्रतिक्रिया