सोमबार, पुष १४, २०८२

बाँकेमा बाघ आतंक, तीन जनाको लियो ज्यान

मेरोन्यूज २०७८ पुष २३ गते ७:३०

काठमाडौँ । बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतंक मच्चाएको छ । पछिल्ला तीन महिनामा बाघले तीन जनाको ज्यान लिएको छ ।

बाघको आक्रमणबाट बिहीबार राप्तीसोनारी गाउँपालिका ४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको संख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।

बुधबारमात्रै राप्तीसोनारी ४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरमा बाघको नङ्ग्राले चोट लागेको छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जंगलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।

बिहीबार राप्तीसोनारी ४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो । विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार प्रहरी घटनास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्रहरीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर शव लिएर आएको थियो ।

राप्तीसोनारी ४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताए । उनले स्थानीयवासीलाई सचेत गराउने कार्यक्रम रहेको जानकारी दिए ।

बाघको संख्या बढाउन स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए ।

प्रतिक्रिया