खोकना राजकुलो मुहान शिलान्यास
खोकानावासीसँग उर्जामन्त्रीको आग्रह : सामुहिक खेती गरौं, म पनि काम गर्छु

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छिन् । ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण शुरु गरिएको हो ।
ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीयको भनाइ छ । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ । स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालु आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरेको थियो ।
कुलोको मुहान शिलान्यासका अवसरमा मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमीनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । मुसाल उक्त क्षेत्रको जनप्रतिनिधी पनि हुन् । उनले सामूहिक खेती गरेर उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा जोड दिँदै भनिन्, “हामी सबै मिलेर सामूहिक खेती गरौँ, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु ।”
तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले एतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन् । उनले भनिन् “उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ, त्यसका आवश्यक प्रवन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिया हुनुहोस् ।”
संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले अगाडी थपिन्, “हामीले भनेको समाजवाद हाम्रै सीप र परीश्रमबाट आउने हो, त्यसका लागि हामीले निरन्तर सिर्जनशील काम गर्नुपर्छ ।”

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले एतिहासिक खोकना राजकुलोको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । सचिव राईले भने, “राज्यले उपलब्ध गराएको सहयोगको अधिकतम फाइदा लिएर उत्पादकत्व वृद्धि गर्नुहोला ।”
सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले एतिहासिक कुलो स्तरोन्नतीबाट खोकनाबासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेट सही तवरले सदुपयोग हुने बताए ।
कार्यक्रममा ललितपुर महानगर वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतीका लागि विनियोजित बजेट सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने पनि बताए ।
आइतबार मन्त्री भुसालले शिलान्यास गरेको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैसीपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । यस प्रणालीबाट करिब दुई हजार घरधुरी एवं सात हजार जनङ्ख्या लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ ।
खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले एतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया