बुधबार, वैशाख १०, २०८२

पीएम कपमा पुलिसको रोमाञ्चक जित

मेरोन्यूज २०७८ पुष २६ गते १४:२१

काठमाडौं । सुदूरपश्चिम एघारलाई दुई रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मुलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनमा समेटियो । सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाउँदा नारायण जोशीले २२ रनको योगदान दिए । यस्तै, खडक बोहोराले १३ रन बनाए ।

पुलिसका आशिफ शेषले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले नौ रन मात्रै खर्चिएका थिए । यस्तै, करण केसी, दीपेन्द्र सिंह ऐरी र पवन सराफले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले कुशल मल्लको २१, पवन सराफको २० र आरिफ शेषको १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

टस हारेर बलिङ पाएको सुदूरपश्चिमको लागि आदित्य महत र नारायण जोशीले सर्वाधिक तीन विकेट लिँदा शेर मल्लले दुई विकेट लिए । जितसँगै समूह ए मा रहेको पुलिसले दुई अंक बटुलेको छ ।

प्रतिक्रिया