शुक्रबार, पुष १८, २०८२

नेपालगञ्जमा वायुयान संग्रहालय सुरु

मेरोन्यूज २०७८ माघ १ गते ११:०४

काठमाडौँ । नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरिएको सञ्चालक तथा ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित बेलासपुरमा राखिएको उक्त संग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ ।

नौ वर्षअघि धनगढीमा डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको संग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्याउन करिब ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई संग्रहालय बनाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ । उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।

स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

प्रतिक्रिया