बिहीबार, पुष १०, २०८२

समयमै स्थानीय तहको निर्वाचन गर्न माग

मेरोन्यूज २०७८ माघ ५ गते १८:०९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे । नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोप समेत लगाए ।

उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए ।

यता, सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले नेपाली काँग्रेसको नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको दावी समेत गरे ।

नेता विश्वकर्माले नेपाली काँग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको पनि बताए ।

प्रतिक्रिया