मिटर ब्याजको पासो : व्यापारी अग्रवाल परिवार नै बैपत्ता

काठमाडौँ । विदेशबाट मंहगा मदिरा आयत गरी बिक्री गर्ने रिटेल शप ‘ग्रीन लाइन’ बन्द गरी सञ्चालकहरु फरार हुनुमा चर्को मिटर ब्याज भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुको खोजी गर्ने क्रममा शहरमा मिटर ब्याजको धन्दा र कोरोना संक्रमणकै कारण फरार भएको आशंका गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आफ्नो पैसा डुबेको र खोजी दिन आग्रह गर्दै धेरै व्यक्तिहरुले प्रहरीमा मौखिक उजुरी गरेका छन् । त्यसमा केही सहकारीका सञ्चालकहरु पनि रहेका छन् । तर धेरै जसो व्यक्तिहरु नै भएकाले उनीहरुको बारेमा प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।
‘हामीले अग्रवाल परिवार फरार हुनुका पछि ऋण बढी भएको हो कि भन्ने आशंका गरेका छौँ, बैंक तथा वित्तीय संस्थाहरुले उनीहरुको अचल सम्पत्तिमा दाबी गरिरहेका छन् । त्यसबाहेक अन्य व्यक्तिहरु पनि सम्पर्कमा रहेकाले उनीहरुले भाग्नु पर्ने कारणमध्ये यही नै प्रमुख कारण हो भन्ने हाम्रो अनुमान मात्रै हो । उनीहरुको खोजी कार्य जारी छ, भेटिनु भयो भने केही कुराहरु पत्ता लाग्ला’, परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने ।
परिसर स्रोतका अनुसार प्रहरी कार्यालयमा दर्जनभन्दा बढी व्यक्तिहरु आफ्नो पैसा डुबेको भन्दै अग्रवाल परिवारको खोजी गरिदिनु आग्रह गर्न परिसर काठमाडौँ पुगेका छन् । बैंक तथा वित्तीय संस्था मात्र होइन व्यक्तिगत ऋणसमेत लिएका अग्रवाल परिवारले ऋण तिर्न नसकेकाले भागेको हुन सक्ने आंकलन गरिएको छ ।
हाल ग्रीन लाइनका सञ्चालक अमित र अभिषेक अग्रवाल सम्पर्कमा छैनन् । बाबु ओमप्रकाश अग्रवालसहित सबै परिवार सम्पर्क बाहिर भएपछि प्रहरीले उनीहरुको खोजी गरेको छ । दुई दाजुभाइ र उनीहरुको खोजीमा अहिले प्रहरी प्रशासनसमेत लागेको भए पनि उनीहरु कहाँ छन् भन्ने बारेमा प्रहरीले जानकारी पाएको छैन ।
जानकारका अनुसार करोडौंको कारोबार गर्ने रेपुटेड कम्पनी छाडेर अग्रवाल परिवार भाग्नुका पछाडि आर्थिक संकट नै हो । बुबा ओमप्रकाशले तयार पारेको व्यापारिक साम्राज्य दुई भाइको महत्वाकांक्षाले डुबाइएको अनुमान गरिएको छ । रिटेल शपमा अहिले एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले सूचना टाँस्दै ‘सबै स्टक आफ्नो स्वामित्वमा रहेको’ भन्दै सिलबन्दी गरेका छन् । मेगा बैंकले कुलेश्वरमा रहेको जग्गालाई लिलामीमा राखेको छ ।
सबै परिवार सम्पर्कबाहिर रहँदा उनका छोरी ज्वाइले प्रहरीमा खोजबिनका लागि उजुरी दिएका छन् । छोरी ज्वाइसँगै पैसा मागेर उनीहरु फरार रहेको खुलेको छ । अग्रवाल दाजुभाइको खोजीमा प्रहरी प्रशासनसमेत लागेको छ
एमालेका केन्द्रीय सदस्य महेश बस्नेत उद्योगमन्त्री हुँदा २०७२ असोज १ गते बसेको औद्योगिक प्रबर्द्धन बोर्डको २१६ औं बैठकले मदिरा उद्योगको इजाजत खुला गर्ने निर्णय गरेपछि उनीहरुले विदेशी मदिराको कारोबार थालेका थिए । मदिरा व्यवसाय गर्ने क्रममा उनीहरुले पाँच करोड रुपैयाँ लिएका थिए । तर त्यही रकम केही वर्षमै १८ करोड पुगेपछि उनीहरुको ओरोलो यात्रा शुरु भएको अनुमान छ ।
व्यापारिक क्षेत्रमा उनलाई चिन्नेहरुले मिटर ब्याजकै रकम मात्रै ५० करोड रुपैयाँभन्दा माथि पुगेपछि भार थेग्न सकेनन् । मिटर ब्याजकै पैसा तिर्न नसक्दा ज्यान मार्ने, परिवारका सदस्य अपहरण गर्नेसम्मको धम्की आएपछि उनीहरुले बिना धितो तीन÷चार वटा सहकारीबाट पनि ऋण चलाएका थिए ।
कोभिडका कारण होटल र रेष्टुरेन्ट बन्द भएपछि मदिराको कारोबार ठप्पजस्तै भएकाले उनीहरु थप समस्या पर्दै गएकाले व्यापार छाड्नु परेर भागेका हुन् । स्रोतका अनुसार क्यासिनो, तारे होटल, रेष्टुरेन्ट र राम्रा पार्टी प्यालेसमा झण्डै २० करोड रुपैयाँ उधारो बाँकी रहेको छ । यतिबेला उनीहरु भागेपछि पैसा तिर्नु पर्नेहरुलाई सहज भएको छ ।
प्रहरीको निगरानी कता ?
उनीहरु फरार रहेपछि बैंकहरुले दरबारमार्गमा रहेको पसलमा सिलबन्दी गरे । त्यसपछि कुलेश्वरमा रहेको जग्गामा बैंकले दाबी गरेको छ । केही अचल सम्पत्तिलाई बैंकहरुले लिलामीको प्रकृयासमेत थालेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँले उनीहरुको खोजी कार्य शुरु गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले प्रयोग गर्दै आएको गाडी लिएर भागेका छन् । पछिल्लो पटक उनको गाडी कता गएको थियो भनेर प्रहरीले गाडी नम्बरका आधारमा सुराकी खोजी गरिरहेको छ ।
अग्रवाल परिवारका ९ जना सदस्य छन् । जसमा ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका, १७ वर्षीय नातिनी नन्दनी, ९ वर्षीय पार्था र २ वर्षीय अनव अग्रवाल छोरी ज्वाइ र आफन्तहरुको सम्पर्क बाहिर रहँदा उनीहरुले प्रयोग गरेको गाडी मुख्य सुराकी हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरुले प्रयोग गरेको मोबाइल ट्रयास गर्दा ज्ञनेश्वरस्थित घरमै स्वीच अफ गरेका कारण कहाँ पुगे भन्ने बारेमा केही बताउन सकेको छैन । ‘उनीहरुको खोजी गरिहेका छौँ केही सम्पर्क छैन सूत्रमार्फत खोजी कार्य जारी छ’, परिसर प्रहरी प्रवक्ता एसपी मैनालीले भने ।
प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइलमा पनि सम्पर्क गरेको थियो । मोबाइलको कल ट्रेसिङ गर्दा उनीहरू कहाँ गएको भन्ने खुल्न सकेको छैन । पछिल्लोपटक उनीहरु जान सक्ने स्थानको बारेमा प्रहरीले निगरानी गरेको छ ।
यद्यपि, नेपाल–भारत सीमा क्षेत्रमा उनीहरुको कल ट्रेसिङ देखिएको छैन । प्रहरीले उनीहरुको घर पुगेर सोधखोज गर्ने क्रममा एउटा कागज फेला पारेका थियो । त्यसमा आफ्नो सम्पत्ति सबैले बाँडेर लिनु भन्ने उल्लेख भएको प्रहरीले जनाएको छ । उनीहरुको आफन्तहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको र अन्य विवरण जानकारी लिइरहेको छ ।
प्रहरीले संकलन गरेका प्रमाणले उनीहरु कहाँ पुगे भन्ने यकिन हुन सकेको छैन ।











आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया