हिमपातले सडकसँगै टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकिएको छ ।
बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानीय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ ।
प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बिहीबार दिउँसोदेखि मनाङमा हिमपात भएको बताए । उनका अनुसार मनाङ, टंकी मनाङ, हुम्डे, पिसाङ र नार्पाभूमिको नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित कोतो, थानचोक र तिमाङ क्षेत्रमा हावाहुरीसहित हिमपात भएको थियो । शुक्रबार रातिबाट हिमपात रोकिए पनि मनाङको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ ।
मनाङमा बिहीबार र शुक्रबार वर्षकै ठूलो हिमपात भएको प्रजिअ आचार्यको भनाइ छ । मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । माथिल्लो मनाङको पिसाङका याङडुङ गुरुङले मनाङमा बिहीबार दिउँसोदेखि भारी हिमपात भएको बताए । उनका अनुसार शुक्रबार भने हावाहुरीसमेत हिमपात भएको थियो ।
हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलीकमको नेटवर्कसमेत अवरुद्ध छ ।
नासों गाउँपालिका ८ ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिंक बन्द भएको छ । हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलिकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताए । उनका अनुसार हिमपातले शुक्रबारदेखि मनाङमा इनटरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया