आइतबार, माघ ४, २०८२

बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच वार्ता हुँदै

मेरोन्यूज २०७८ माघ २३ गते १३:२३

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच भेट वार्ता हुने भएको छ । स्रोतका अनुसार आइतबार दिउँसो ४ बजे शीर्ष नेताहरूबीच भेट वार्ता हुने भएको हो ।

भेटमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली सहभागी हुने भएका छन् । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे चर्को बहस हुँदै गर्दा लामो समयपछि तीन नेताबीच भेटवार्ता हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री देउवा स्वयम् एमसीसी पारित गर्नेबारे छलफल गर्न ओली निवास बालकोट पुगेका थिए । उक्त भेटमा अ‍ोलीले देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाए एमसीसी पारित गर्न सहयोग गर्ने बताएका थिए ।

पछिल्लो समय एमसीसीबारे बहस हुँदै गर्दा प्रधानमन्त्री देउवा र प्रचण्ड आफैले एमसीसीको मुख्यालयलाई लेखेको पत्र बाहिरिएको छ । पत्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू देउवा र प्रचण्डले आगामी फागुन १६ गतेसम्म एमसीसी संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर, सभामुखले लामो समयसम्म आफ्नो माग पूरा नगरेको भन्दै संसद अवरुद्ध गरेको एमालेका अध्यक्ष अ‍ोली छलफलका लागि बालुवाटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया