सोमबार, वैशाख २१, २०८३

सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव

मेरोन्यूज २०८३ वैशाख २१ गते ८:१३

काठमाडौँ। भ्रष्टाचार नियन्त्रण एवं सुशासन कायम गर्दै र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नेगरी संविधान संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।

Advertisement
NiccNicc

संविधान निगरानी समूह र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित संविधान संशोधनका विषयहरू विषयक संवाद कार्यक्रमका वक्ताले सुशासन र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याकै कारण गत भदौमा विद्रोह भएकाले त्यसलाई सम्बोधन गर्नेगरी संशोधनका विषय अघि बढाइनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले देशमा सुशासन कायम हुनेगरी संविधान संशोधनको गृहकार्य भइरहेको बताए । देशलाई फेरि प्रयोगको माध्यम नबनाउने गरी संविधान संशोधनका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले संविधान संशोधनको कार्यदल बनाएर सरकारले के गर्न खोजेको हो भन्ने प्रष्ट नभएपछि पार्टीले प्रतिनिधि नपठाएको बताए। संविधान पुनर्लेखन गर्न खोजेको हो वा संशोधन यो प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री वालेन्द्र शाहले गठन गररेका संविधान संशोधन कार्यदलको सदस्यसमेत रहेका सांसद मोहनलाल आचार्यले संविधान संशोधनको विधेयक उठान हुनुअघि कार्यदलले छलफल गरेर विधेयक मस्यौदा गर्नेगरी तयारी भइरहेको बताए ।

पूर्वकानुनमन्त्रीसमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता अग्नि खरेलले सुविचारित तरिकाले संविधान संशोधनलाई अघि बढाउनुपर्ने बताए । संविधान राजनीतिक दस्तावेज भएकाले सङ्ख्याका आधारमा मात्र यसलाई नहेर्न उनले अनुरोध गरे ।

पूर्वसांसद राधेश्याम अधिकारीले नेपालमा रहेको विविधताको प्रतिनिधित्व गराउन संसदीय शासन प्रणाली नै उपयुक्त हुने बताए । पुराना नेताले पद छाड्न नचाहेको इतिहास भएकाले संविधान संशोधनकै बेला बाँकी विषयलाई प्रष्ट पार्नुपर्ने उनको भनाइ छ।

पूर्वसांसद खिमलाल देवकोटाले बदलिएको शक्ति सन्तुलनले भूराजनीतिलाई थेग्न सक्छ कि सक्दैन भन्ने प्रष्ट भएर अघि बढ्नुपर्ने बताए। सम्झौताको दस्तावेजका रूपमा आएको संविधान अझ सुदृढ गराउन नियमित जानकारी गराउनेगरी छलफल हुनुपर्ने बताए।

सांसद लक्ष्मणलाल कर्णले उत्कृष्ट संविधानलाई अझै उत्कृष्ट बनाउन जनस्तरसम्म छलफल गरेर अघि बढ्नुपर्ने बताए। पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले संविधान कार्यान्वयनको लाभ जनताले पाएको भए गत भदौ २३ र २४ गतेको विद्रोह नहुने बताए। केही कमजोरी सुधार गरेपछि संविधान राम्रो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया