आइतबार, माघ ४, २०८२

नेपाल टेलिकमले गर्यो भोल्टी सेवाको व्यावसायिक शुरुवात

वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध

मेरोन्यूज २०७८ माघ २३ गते १८:०२

काठमाडौं । नेपाल टेलिकमले देशैभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको छ ।

टेलिकमको १८ औं वार्षिक उत्सवका अवसरमा भोल्टी सेवाको सुरुवात गरेको नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले जानकारी दिइन् ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ पनि उपलब्ध गराइएको वैद्यले जानकारी दिइन् । टेलिकमको वार्षिक उत्सव अफर अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म चलाउन सकिने भएको छ ।

यस्तै, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म तथा ६९ रुपैयाँमा हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गते रहने जनाएको छ ।

वार्षिकोत्सवको दिन माघ २२ गते शनिवार २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको थियो ।

साथै टेलिकमले वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने वैद्यले जानकारी दिइन् ।

सोही कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो ।

यस्तै, टेलिकमले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया