शुक्रबार, चैत ६, २०८२

झगडापछि अपहरण गरी हत्या, ११ वर्षपछि आरोपी पक्राउ

मेरोन्यूज २०७८ माघ २४ गते १३:०८

काठमाडौँ । ३ माघ २०६७ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढा बेपत्ता भए । उनी एक्कासी बेपत्तापछि खोजतलास भयो । परिवारका सदस्यदेखि स्थानीय र प्रहरीसमेत खोजीमा जुटे । फेला परेनन् । तर, सोही क्रममा खुल्यो– उनको अपहरण ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीको शंकाको घेरामा परे स्थानीय केही युवा । त्यसमध्येका हुन्– सौभाग्य मल्ल, प्रशन्न मल्ल, कृष्ण थापा, सरोज गोले र दिनेश शाही । उनीहरू गाउँबाट फरार थिए । प्रहरी एकातिर फरार भएकाहरू र अर्कातिर अपहरणमा परेका हिमालको खोजीमा सक्रिय भयो । अन्नतः ११ दिनपछि १४ माघ २०६७ मा हिमालको शव जिल्लाकै कोहलपुर नगरपालिका २ मा सडेगलेको अवस्थामा फेला पर्‍यो ।

उनको शव परीक्षण भयो । बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेका अनुसार शव परीक्षण प्रतिवेदनमा हिमालको मृत्युको कारण घाँटीमा डोरीले कसिँदा श्वासप्रस्वास अवरुद्ध हुँदा उल्लेख थियो ।

डीएसपी न्यौपाने थप्छन्, ‘अनुसन्धानका क्रममा हिमालको अपहरण झगडा कारण भएको पनि खुल्यो ।’ यसपछि प्रहरीले घटनामा आशंकितको खोजी गर्ने क्रममा प्रशन्न पक्राउ परे । उनी नेपालगञ्ज नगरपालिका १७ का हुन् । आशंकितमध्येका कृष्ण थापा पनि पक्राउ परे ।

सौभाग्य, सरोज र दिनेश भने फरार थिए । तर, सौभाग्य भने शुक्रबार गोरखाबाट परे । उनलाई आइतबार जिल्ला अदालत बाँकेमा प्रहरीले पेश गरेको छ । डिएसपी न्यौपानेले सौभाग्यविरुद्ध अपहरण र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अदालतमा दर्ता रहेको बताए । अब थुनछेक बहस हुने न्यौपानेको भनाई छ ।

यसअघि सोही मुद्दामा दोषी ठहरिएपछि जिल्ला अदालत दैलेखबाट १० वर्ष कैद भुक्तान गरेर कारागारमुक्त भएका छन् । कसुर गरेको ठहर नभएपछि कृष्ण भने हाजिरी जमानीमा छुटेका छन् ।

दिनेश र सराज भने अझै फरार छन् । उनीहरूको ठेगानासमेत प्रहरीलाई थाहा छैन । ठेगाना नै थाहा नभएपछि प्रहरीलाई उनीहरूको तीन पुस्ते थाहा हुने कुरै भएन । जसले उनीहरूको खोजीमा प्रहरीलाई सकस परेको छ ।

‘घटनापछि नै सरोज र दिनेशको पनि हामीले खोजी गरेका हौँ, तर उनीहरूको ठेगाना खुलेको छैन, त्यसो हुँदा तीन पुस्ते खुल्ने कुरै भएन,’ डिएसपी न्यौपानेले भने, ‘सोही कारण हामीले उनीहरूलाई फेला पार्न सकेका छैनौँ ।’

अपहरणसम्बन्धी अधिकांश घटनामा फिरौती माग्ने हुन्छ । तर, हिमालको अपहरणपछि हत्या भएको घटनामा भने फिरौती पनि नमागेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया