कमल थापाको निरन्तर दाउपेचको राजनीति
पूर्वपञ्चहरु संगठित हुँदा कमल थापा पाँचौ बरियतामा थिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले बुधबार पार्टी परित्यागको घोषणा गरे । पार्टी एकता महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा उम्मेदवारी दिएका थापाले राजेन्द्र लिङदेनसँग पराजय भोगे । जो, उनका जुनिएर कार्यकर्ता थिए ।
पार्टी नेतृत्वबाट चिप्लिएपछि उनले सिधै आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्रको हात रहेको आरोप लगाए । राजाका पक्षमा विगतमा आफूले निकै दुःख गरेको भए पनि निर्मल निवासले आफूलाई उपेक्षा गरेको उनको भनाइ थियो । उनको पराजयपछिको आक्रोश निरन्तर जारी थियो ।
लिङदेनले पार्टी नेतृत्व सम्हालेपछि पनि उनले निर्मल निवासको हस्तक्षेप छानबिन गर्न भन्दै पार्टीमा लिखित उजुरी दिए । थापाको पछिल्लो राजनीतिक दाउपेच असफल भएपछि तरंगित बनेका थापाले अन्ततः बुधबार आफ्नो गृह जिल्ला मकवानपुर पुगेर ‘अत्यन्त भारी मन र पीडाबोधका साथ’ राप्रपाबाट अलग भएको घोषणा गरे ।
थापाले विगतदेखि नै दाउपेचको राजनीति गर्दै आएको कुरा पञ्चायतदेखि गणतन्त्र आउँदासमेत सत्ताको पेरिफेरिमै रहेको तथ्यले देखाउँछ ।
तत्कालिन शेरबहादुर देउवा सरकारमा स्थानीय विकासमन्त्री रहेका कमल थापा राप्रपाको गुटगत राजनीतिको फाइदा उठाउँदै चन्द नेतृत्वको सरकारमा परराष्ट्र र स्थानीय विकास मन्त्रालय सम्हाल्न पुगे । जतिबेला उनी लोकेन्द्रबहादुर चन्दको कित्तामा थिए ।
सत्ताको किचलोकै फाइदा उठाउँदै त्यतिबेलै फेरि चन्दको कित्ता बदलेर उनी सूर्यबहादुरको क्याम्पमा पुगे । राप्रपा पुनः विभाजित भई थापा र चन्द समूहमा फर्कियो । ०५६ सालको आम निर्वाचनमा विभाजित दुई राप्रपा मध्ये थापाले ११ सिट जिते भने चन्द सून्यमै हराए ।
थापा–चन्दले २०५७ सालमा फेरि पार्टी एकीकण गरे । २०५९ सालमा ज्ञानेन्द्र शाहले देउवा सरकार बर्खास्त गरेपछि भने कमल थापाले राजालाई साथ दिन पुगे । र, शाहको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीसमेत बने ।
राजाको प्रत्यक्ष शासनको पक्षमा लागेका थापाले अन्ततः २०६२ सालमा पार्टी फुटाएर राप्रपा नेपाल गठन गरी आफू अध्यक्ष भएको घोषणा गरे ।
पहिलो संविधानसभामा राप्रपाले नराम्रो हार ब्यहोरे पनि हिन्दु राज्य र राजसंस्थाको मुद्दा बोकेका कमल थापाको राप्रपा नेपालले दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट नजिते पनि समानुपातिकतर्फ २४ सिट पायो । हिन्दु राज्यको माग लिएकै कारण २४ सिट पाएर संविधानसभाको चौंथो ठूलो दल बनेपछि थापा निकै हौसिए । जतिबेला चन्द–सूर्यबहादुर थापाको राप्रपाले भने प्रत्यक्षमा ३ र समानुपातिकमा ९ सिट मात्रै जितेको थियो ।
०७२ सालमा सूर्यबहादुर थापाको निधनपछि ०७४ मंसिरमा पशुपतिशम्शेर र कमल थापाले पार्टी एकता गरे । पार्टी एकताका क्रममा कमल थापा पार्टी अध्यक्ष र पशुपति शम्शेर राणा राष्ट्रिय अध्यक्ष बने । तर पूर्व पञ्चहरुको राजनीतिक खिचतानी झनै झाँगिदै गयो ।
कमल थापासँग असहमति जनाउँदै प्रकाशचन्द्र लोहनीले पार्टी छोडिसकेका थिए भने राणाले पार्टी फुटाएर राप्रपा (प्रजातन्त्रिक) बनाए ।
अन्ततः राजावादी शक्तिहरु कमजोर हुँदै गएपछि पछिल्लो पटक ०७६ फागुन २४ मा कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष रहने गरी पार्टी एकताको घोषणा गरे ।
तीनै जना अध्यक्ष रहेको राप्रपाको हालै सम्पन्न महाधिवेशनमा १६ वर्षदेखि सत्ता र शक्तिको रसास्वादन गर्दै आएका कमल थापा पराजित भए । अनि, आफ्नो पराजयलाई निर्मल निवाससँग दाँजे । यो विषयमा अहिलेसम्म निर्मल निवासको प्रतिक्रिया बाहिर आएको छैन ।
कमल थापा २०६२ पुसमा पूर्वपञ्चहरुको पार्टी फुटाएर पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको पहिलो पटक अध्यक्ष बनेका थिए ।
पार्टी विभाजन र एकता हुँदा पनि एकल वा सामुहिक पद्धतिमा पनि थापा पार्टी नेतृत्वमै रहेका थिए । नेतृत्वबाट बाहिरिएपछि उनी फेरि पनि नेतृत्वमै रहने दाउका साथ नयाँ पार्टी गठनको तयारीमा छन् ।
पूर्वपञ्चहरु संगठित हुँदा थापा पाँचौ बरियतामा
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि ०४७ सालमा पूर्वपञ्चहरु संगठित भएका थिए । जतिबेला क्रमशः सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरापछि मात्रै कमल थापा थिए । संगठित हुँदै गर्दा नै पूर्वपञ्चहरु एक ठाउँमा अटाएनन् ।
२०४७ जेठ १५ गते एकैदिन लोकेन्द्रबहादुर चन्द नेतृत्वमा राप्रपा (चन्द) र सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा गरिए ।
पार्टी घोषणा भएको एक वर्षपछि भएको आम निर्वाचनमा देशभरका २०५ निर्वाचन क्षेत्रमध्ये राप्रपा(चन्द)ले तीन सिट मात्रै जित्यो भने राप्रपा (थापा)ले एक सिटमा चित्त बुझाउनु पर्यो ।
उक्त निर्वाचनमा राप्रपा (चन्द) को सिन्धुपाल्चोकबाट पशुपतिशम्शेर राणा, नुवाकोटबाट प्रकाशचन्द्र लोहनी र रसुवाबाट रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए ।
राप्रपा (थापा)को दार्चुलाका अकबरबहादुर सिंहले मात्रै चुनाव जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आम निर्वाचनको उक्त परिणामले पञ्चहरुको साख गिरायो ।
पहिलो निर्वाचन परिणामपछि एकतामा जोड दिए । २०४८ माघमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द एक भए । सूर्यबहादुर थापा नेतृत्वको राप्रपा ०५१ सालको मध्यावधि चुनावमा देशभर १९ सिट जितेर संसदको तेस्रो शक्ति बन्यो ।
तर सत्ता र शक्तिको लालचाकै कारण चन्द र थापा एकअर्काबीचको होडबाजी कायम रह्यो । २०५४ सालमा एमालेसँगको गठबन्धनमा चन्द प्रधानमन्त्री बनेपछि थापा चन्दलाई नै ढाल्ने खेलमा लागेका थिए ।
बुधबार राप्रपाबाट अलग भएको घोषणा गरिरहँदा पनि थापाले राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने आफ्नो यात्रामा निर्मल निवास नै तगारो बनेको आक्षेप लगाएका छन् । निरन्तर राजतन्त्रको ओत लागेर सडकदेखि सदनमा पुगेका थापाले अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी राजाले खोलेको पार्टी नभएको जिकिर गरेका छन् ।
याे पनि पढ्नुस्
पूर्वपञ्चको पार्टीमा छैंटौं फुट
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया