मंगलबार, पुष १५, २०८२

भरतपुर महानगरका सबै विद्यालयमा स्यानेटरी प्याड वितरण सुरु

मेरोन्यूज २०७८ माघ २७ गते १०:२५

भरतपुर । भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा स्यानेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो ।

पहिलो चरणमा एक लाख ८० हजार प्याकेट स्यानेटरी प्याड महानगरले वितरण गरेको छ । लङ्कु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा सङ्ख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरिएको छ ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरिनु ।

दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने ठकुरीले जानकारी दिइन। उनले यसको प्रयोगसँगै फोहरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरे ।

महिनावारी भएका बेला विद्यालय जान छात्रालाई असहज हुने भएकाले विद्यालयमै स्यानेटरी प्याडको व्यवस्थापन गर्नसके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने ठकुरीको भनाइ छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विगतदेखि नै स्यानेटरी प्याड वितरण गर्ने योजना भए पनि खरिद प्रक्रियाले ढिलाइ भएको बताए । बोलपत्र आह्वान गरेर खरिद गर्दा समय लागेको पौडेलको भनाइ छ । घटिघटाउमा रु ९२ लाख ६३ हजार ३९९ मा बोलपत्र सम्झौता भएर स्यानेटरी प्याड खरिद गरिएको हो ।रासस

प्रतिक्रिया