आइतबार, माघ ४, २०८२

एमसिसीविरुद्ध भ्रम फैलाउने काम भयो : प्रवक्ता डा. महत

मेरोन्यूज २०७८ फागुन १ गते १०:१३

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोशिस भइरहेको बताएका छन् । शारदानगर जेसिजको २२ औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै उनले एमसिसीबारे प्रायोजित रूपमा फैलाइएको भ्रम चिर्न आवश्यक भएको बताए ।

एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने बताए । एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले स्पष्ट पारे । उनले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताए ।

उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने बताए । फरक प्रसंगमा उनले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह गरेका छन् । उनले भने, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।”

कार्यक्रममा भरतपुर महानगरपालिका १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरु तारा गुरुङ, प्रमिशा काफ्लेलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया