शव व्यवस्थापनमा खटिएका सैनिकले समेत पाएनन् कोरोना बिमा

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले संक्रमित भएपछि पाउने बिमा रकम नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदा समेत बिमा रकम पाउन सकेका छैनन् ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखि बिमा बापतको रकम उपलब्ध गराइदिन आग्रह गरेको हो ।
संक्रमित भएका सैनिकले बिमा रकम दाबी गरेको लामो समय बितिसक्दा पनि पाउन सकेका छैनन् । बिमा रकम निकासा नभएपछि सेनाले सहजीकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय गुहारेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भएवापत बिमा रकम दाबी गरेका छन् ।
‘बिमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको फाइल स्वीकृत हुने क्रममा छ,’ सैनिक प्रवक्ता सिलवालले भने ।
बिमा दाबी गर्नेमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बिमा वापतको रकम प्राप्त गरेका छन् । बिमा वापत प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ । अर्थात हालसम्म कोरोना संक्रमण भएकामध्ये ९०१ सैनिकले ९ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सैनिक प्रवक्ता सिलवालका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बिमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने बिमा रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो । चीनबाट उद्धार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।
विश्वमा पहिलो पटक कोरोना संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ २०७६ मा भेटिएका थिए । त्यसयता हालसम्म नेपालमा ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
नेपालमा रहेका संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । (न्युज कारखाना)















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया