शुक्रबार, पुष १८, २०८२

एकाविहानै खानेपानी मन्त्री मेलम्चीको अम्वाथान पुग्दा …

मेरोन्यूज २०७८ फागुन २ गते २०:५३

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुननिर्माणस्थल पुगेका थिए ।

मन्त्री चौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्वर सुरुङको, बैकल्पिक डाईभर्सन, सुरुङ गेट, ९ नम्वर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको निरीक्षण गरी जानकारी लिएका छन् ।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ ।

मेलम्चीको निरीक्षणपछि मन्त्री चौधरीले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतिपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भएमा काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने बताए ।

मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनःनिर्माण गर्न ठेक्का अवधी कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो । मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ ।

मन्त्री चौधरीसँगै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पनि बाँधस्थल पुगेका थिए ।

प्रतिक्रिया