बुधबार, पुष १६, २०८२

नेपालमै पहिलो पटक उत्पादित क्यान्सर विरुद्धको औषधि बजारमा

मेरोन्यूज २०७८ फागुन ४ गते १२:२०

काठमाडौँ । नेपालमै पहिलो पटक उत्पादन भएको क्यान्सर रोगबिरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आउन सुरु भएको छ ।

टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टि क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो । यो संगै टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।


टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपाल भित्रै बिक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए ।


उनले वैद्यले आफ्नो कम्पनी क्यान्सर रोगबिरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दावि गरेका छन् । टिजिग फर्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव (एसपीएएल)संग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।


‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्टार्डड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐन अनुसार नै सञ्चालनमा ल्याएका हौँ,’ संस्थाका कार्यकारी निर्देशक वैद्यले भने ।

संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधी ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र संचालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुने छ ।

फार्मामा औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम हुने गरेको वैद्यले बताए ।
उनले एसपीएएल (डब्लुएचओ जीएमपी, इयुजीएमपी सर्टिफाईड) समेतको व्यवस्थापन तथा निगरानी हुने गरेकाले औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बसेको वैद्यले दाबी गरे ।

नेपालकै एक मात्र नमूना कम्पनी
क्यान्सर विरुद्धका औषधिहरु उत्पादनमा यस औषधिबाट उत्पादनका समयमा व्यक्ति र वातावरणमा पर्न सक्ने असरहरुलाई (विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालमा रहेका ऐन तथा नियमावली) नियन्त्रण गर्नुपर्ने हुन्छ ।

ती सबै व्यवस्थालाई टेकेर स्थापना भएको टिजिग फार्मा नेपालमा औषधि उत्पादन क्षेत्रमा एउटा नमूना उद्योग रहेको कार्यकारी निर्देशक वैद्यले बताए ।
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ । जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी एि ।

औषधिको गुणस्तर पहिलो प्राथमिकता
विश्व बजारमा आफ्नो उत्पादन बिक्री गर्दै बेग्लै पहिचान स्थापित गरेको एसपीएएल संगको सहकार्यमा सञ्चालित टिजिगले आफ्नो पहिलो प्राथमिकता औषधिको गुणस्तर कायम राख्नु रहेको बताएको छ ।

औषधिको गुणस्तरमा महत्व राख्ने अर्को महत्वपूर्ण पक्ष उत्पादन र परीक्षणमा प्रयोग हुने सम्पूर्ण मेसिन÷उपकरणहरुको समेत नियमित क्यालिब्रेसन र भ्यालिडिटेसन आदि कार्य गराउदै आएको कार्यकारी निर्देशक वैद्यले बताए ।

अहिले उत्पादन गरिएका एन्टीक्यान्सर औषधि ट्याब्लेट र क्याप्सुल
कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा जाने टिजिगका उत्पादनहरु ट्याव्लेट र क्याप्सुलको बनोटमा रहेको बताए । उनले इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको जानकारी दिए ।
अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात ट्यावलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । हामी यति मै खुम्चिने होइन । इन्जेक्सन स्वरुपमा पनि जानेछौँ, केही समय लाग्ला, तर त्यो अझ एडभान्स लेभलमा हुनेछ’ वैद्यले भने ।
क्यान्सरका विभिन्न प्रकारमध्ये सकेसम्म बढि प्रकारका क्यान्सर विरुद्ध प्रयोग हुने औषधिहरु यस कम्पनीले उत्पादन गर्दैछ र विभागबाट स्वीकृति प्राप्त भए अनुसार क्रमश बजारमा उपलब्ध हुँदै जानेछ ।

टिजिग फार्माबाट उत्पादन हुने एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि कार्यकारी निर्देशक बैद्यले बताए ।

‘हामीले अहिले उत्पादन गरेका औषधि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ । उहि औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ। अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ। औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन’, उनले भने ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहो बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा विष्णुद्धत्त पौडेलले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन हुनु गर्वको विषय रहेको भन्दै यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले विदेशी टेक्नोलोजी र लगानी भित्र्याई क्यान्सर रोग विरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको भन्दै, टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको भन्दै स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको बताए ।


औषधि व्यवस्था विभागका सन्तोष केसीले छ दशक अघिबाट नेपालमा औषधि उत्पादन सुरु भएको इतिहास कोट्याउँदै टिजिगबाट उत्पादित औषधि पछिल्लो उदाहरण भएको बताए । उनले उत्पादित औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे । टिजिग फार्माले मंगलबार एक औपचारिक कार्यक्रम गरी स्वदेशी तथा विदेशी बजारमा जाने तयारी भएका औषधिको सार्वजनिककरण गरेको थियो ।

प्रतिक्रिया