आइतबार, चैत ८, २०८२

डेढ करोडको लागतमा काली मन्दिर निर्माण

मेरोन्यूज २०७८ फागुन ५ गते ७:५९

काठमाडौँ । झापाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाख रुपैयाँको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

विं.सं. २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए । ‘हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ,’ उनले भने, ‘ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।’

मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूना योग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए । ‘नगरकै आकर्षक धार्मिक पर्यटकीय स्थल बनाउने योजनामा स्थानीयवासी लाग्नु भएको छ,’ उनले भने, ‘यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।’

मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए । ‘दाताबाट संकलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ,’ उनले भने । काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ ।

सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिए ।

प्रतिक्रिया