शुक्रबार, पुष २५, २०८२

६ कम्युनिस्ट पार्टीको प्रदर्शन शान्तिपूर्ण, सत्तारुढ एकीकृत समाजवादीका कार्यकर्ता उग्र

मेरोन्यूज २०७८ फागुन ६ गते १५:५२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध काठमाडौंको नयाँ बानेश्वर केन्द्रित प्रदर्शन शुक्रबार विहानैदेखि जारी छ ।
प्रतिनिधिसभाको बैठक आज पुनः बोलाएका कारण एमसीसी टेबुल हुन नदिन दबाब स्वरुप संसदीय दलहरु र संसदबाहिरका दलहरुले प्रदर्शन गरेका हुन् ।

संघीय संसद भवन रहेका कारण स्थानीय प्रशासनले बानेश्वरको चारै क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । संसद भवनलाई केन्द्रित गरी ६ कम्युनिस्ट पार्टीहरुले बानेश्वर एभरेष्ट होटल अगाडि प्रदर्शन गरेका छन् भने पूर्वतर्फ नेपाल मजदुर किसान पार्टीले प्रदर्शन र विरोधसभा गरेका छन् ।

विप्लव नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको मसाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकीको माके (समाजवादी)ले संयुक्त प्रदर्शन गरेका छन् ।

संयुक्त प्रदर्शन गरेका ६ कम्युनिस्ट पाटीले शान्तिपूर्ण प्रदर्शन गरी एमसीसीको विरोध गरेका छन् भने त्यही क्षेत्रमा माधव नेपाल नेतृत्वको सत्तारुढ एकीकृत समाजवादीका कार्यकर्ताहरुले भने उग्र रुपमा प्रदर्शन गरेका छन् ।

एकीकृत समाजवादीको प्रदर्शनको नेतृत्व पुण्य गौतमले गरेका छन् । उनीहरुले विहानैदेखि सडकमा आगो बालेर प्रदर्शन गरेका छन् ।

सडकको मध्यभागमा ६ कम्युनिस्ट पार्टीले विरोधसभा गरिरहँदा छेउतिरको सडकमा आगो बालेर नेकपा एसका कार्यकर्ताले प्रदर्शन गरेका छन् । सडकमा आगो बाल्ने, कपडा खोलेर नाङ्गै हुनेदेखि सडकमा सुतेर उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

सोही ठाउँमा एमसीसी विरुद्धमा प्रदर्शन गरेका केही राजावादी समूहले प्रहरीमाथि ढुंगा बसाएका थिए । प्रहरीलाई ढुंगा हानेर विथोल्न खोजेको भन्दै विप्लवका कार्यकर्ताले एक युवालाई कुटपिट समेत गरेका थिए ।

प्रतिक्रिया