शुक्रबार, पुष २५, २०८२

कांग्रेस महासमिति सदस्य लमजुङमा १४ गते मतदान हुँदै

मेरोन्यूज २०७८ फागुन ७ गते ९:१४

लमजुङ । नेपाली कांग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मंसिर पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि निर्वाचन गर्न लागेको हो ।

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नु पर्नेमा निर्वाचनले पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सबैमा थकान भएपछि सारिएको कांग्रेसले बताएको थियो । कांग्रेस नेता कार्यकर्ता गुट उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो ।

कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्य तालिकाअनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएको थियो । आज दिउँसो १ बजेसम्म उमेदवारको मनोनयन फिर्ताको समय राखिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन आजै हुने छ ।

मतदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुने छ । मतदान सकिएपछि मतगणना हुने छ । मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुने छ ।

केन्द्रीय महासमिति सदस्य पदका उमेदवारले मनोनयनका लागि १४ हजार रुपैयाँ बुझाउनु पर्ने छ । कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया