शुक्रबार, वैशाख २५, २०८३

स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघको निर्वाचनः प्रधानमन्त्री

मेरोन्यूज २०७८ फागुन ७ गते १७:५०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

Advertisement
NiccNicc

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना पनि सुनाए ।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरे ।

स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले मुलुकको दू्रत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए । त्यस अवसरमा उनले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गरे ।

समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकको रुपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीबाट मार्च पास समेत गराइएको थियो । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया