सोमबार, माघ ५, २०८२

एमसीसीमा गठबन्धन दलको आआफ्नै माग, आगामी बाटो कस्तो ?

मेरोन्यूज २०७८ फागुन ८ गते १०:४२

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा पाँचवटा धारणा देखा परेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धनमा एमसीसी बिना सर्त पारित गर्ने, एमसीसी टेबुल गर्न दिने तर संशोधन बिना अनुमोदन नगर्ने, एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिनेलगायतका धारणा निमार्ण भएका छन ।

Advertisement
thakur moters insidethakur moters inside

यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जे निर्णय लिए, त्यसैअनुसार निर्णयमा पुग्ने र एमसीसीका विषयमा चरणबद्ध आन्दोलनलाई निरन्तरता राख्नेसहित पाँचवटा धारणा देखा परेका हुन । प्रधानमन्त्री देउवाले नेतृत्व गरेको कांग्रेस बिना सर्त एमसीसी संसदमा टेबुल गरेर अनुमोदन गराउने पक्षमा उभिएको छ ।

गत साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णयअनुसार सरकारको नेतृत्वकर्ता कांग्रेस १६ फागुनभित्र एमसीसी अनुमोदन गराउने पक्षमा स्पष्ट देखिएको छ ।

‘गठबन्धन टुटे टुटोस् तर एमसीसी पारित गराउने पक्षमा कांग्रेस छ,’ गठबन्धन बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले पार्टी धारणा सार्वजनिक गर्दै आएका छन् । त्यसका लागि सत्तारुढ गठबन्धनसँग यसअघि दुईपटक घनिभूत छलफल गरेको कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि सहयोगको आग्रह गरेको अवस्थामा पुनः आज पाँच दलीय गठबन्धनको बैठक आह्वान गरेको छ ।

यसअघि एमसीसीका बारेमा ‘हार्डलाइनर’ को रुपमा देखा परेको नेकपा एस शनिबारको स्थायी कमिटी बैठकपछि केही हदमा लचिलो भएको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसीसीलाई संघीय संसदमा बिना अवरोध टेबुल गर्न दिने तर संशोधन बिना अनुमोदन भने नगराउने पक्षमा स्थायी कमिटीले निर्णय लिएको जानकारी गराइसकेका छन ।

‘एमसीसीलाई संसदीय प्रक्रिया अघि बढाउन टेबुल गर्न दिने पक्षमा नेकपा एसले निर्णय गरेको छ,’ प्रवक्ता खतिवडाले भने, ‘तर, बिना संशोधन एमसीसी अनुमोदन गराउने पक्षमा पार्टी भने रहेको छैन ।’ उनका अनुसार सम्झौताको संशोधन भएपछि मात्रै एमसिसी अनुमोदन हुने नेकपा एसको बटमलाइन कायमै छ ।

नेकपा माओवादी केन्द्रले एमसीसीलाई ‘जर्वजस्ती’ टेबुल गरिएमा सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत साता सम्पन्न माओवादी संसदीय दलको बैठकले गरेको निर्णय प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डले जानकारीसमेत गराइसकेका छन् ।

‘एमसीसी टेबुल गरिए माओवादी गठबन्धन सरकारबाट बाहिरिन्छ, यो हामीलाई मान्य हुन्न्,’ प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीको औपचारिक निर्णय यसअघि नै सुनाइसकेका छन् । जुन निर्णयबाट माओवादी पछि हटेको अझैसम्म सार्वजनिक भएको छैन्, यद्यपि, प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने आज सहभागी हुँदै छ ।

उता, तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी नेपाल (जसपा) माओवादी केन्द्र र नेकपा एसले गर्ने निर्णयका आधारमा एमसीसीका पक्ष वा विपक्षमा उभिने निष्कर्षसहित गठबन्धनको बैठकमा सहभागी भइरहेको छ ।

‘माओवादी र नेकपा एसले जे निर्णयमा पुग्छन, हामी त्यसै आधारमा निर्णय लिने छौँ,’ जसपाका नेता मोहम्मद इस्तियाक राइले टिप्पणी गरे, ‘हामी अझै पनि गठबन्धनमा एकमत होस भन्नेमा प्रतिक्षारत छौं ।’ माओवादी र नेकपा एसको निर्णयअनुसार पार्टी निर्णय हुने भन्दै जसपा नेपालले जस÷अपजसको भारी गठबन्धन सँगसँगै बोक्ने निष्कर्षसहित धारणा सार्वजनिक गरिरहेको छ ।

उता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा भने गठबन्धन छाडेर एमसीसीको विरोधमा सडक आन्दोलनमा होम्मिएको छ । ‘खसी देखाएर फर्सी खुवाउन लागेको’ भन्दै असन्तुष्ट जनमोर्चा मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत ६ साना बामपन्थी दलसँग मिलेर सडक आन्दोलनमा होम्मिएको छ । साना बामपन्थी दलसँग कार्यगत एकता गरेर सडक आन्दोलनमा होम्मिएको जनमोर्चा गठबन्धनका पछिल्ला बैठकहरुमा अनुपस्थित हुँदै आएको छ ।

प्रधानमन्त्री देउवाले आज १० बजेका लागि बोलाइएको बैठकपछि एमसीसीका कारण गठबन्धनको आगामी बाटो कस्तो हुने ? स्पष्ट देखिने छ ।

प्रतिक्रिया