बिहीबार, वैशाख २४, २०८३

पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु

मेरोन्यूज २०८३ वैशाख २४ गते १६:३४

काठमाडौँ । नेपाल टेलिकमले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

Advertisement
NiccNicc

सोमबार (वैशाख २१) देखि त्यहाँ यो सेवा शुभारम्भ गरिएको हो । पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ७९४ मिटरको उचाइमा रहेको उक्त विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभरा दर्शन गर्न जाने तीर्थयात्री लाभान्वित भएका छन् । फुङ्लिङ नगरपालिका र फक्ताङलुङ, सिरीजंघा र पाथीभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दा पनि प्रत्यक्ष रूपमा लाभान्वित हुने टेलिकमले जनाएको छ ।

योसँगै दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्नेछन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ ।

सञ्चारको पहुँचबाट टाढा रहेको उक्त जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दा अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्‍याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने टेलिकमको विश्वास छ ।

उच्चपहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अरू आपत्कालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका निम्ति सम्बन्धित निकाय एवं परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सञ्चार सुविधाको उपलब्धताले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीलाई क्यूआर कोडमार्फत भुक्तानीलगायत डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवर्द्धन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया