बिहीबार, माघ १, २०८२

यस्तो छ सत्तारुढ माओवादीको आन्दोलन तयारी

मेरोन्यूज २०७८ फागुन ११ गते १९:३६

काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले विहीबार पनि जनवर्गीय संगठनहरुलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

पार्टीका युवा संगठन वाईसीएल, मजदुर र विद्यार्थी संगठनले संयुक्तरुपमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनको मुल नेतृत्व वाईसीएलले गर्ने भएको छ ।

जबस मोर्चाको मंगलबार बैठक बसेर आन्दोलनका लागि योजनाहरु बनाएका हुन् । वैठकको निर्णयअनुसार वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा जगत सिंखडा, सुमन देवकोटा र पञ्चा सिंहसहित जबस मोर्चाका नेताहरुले प्रदर्शनको अगुवाई गर्ने भएका छन् ।

विहीबार विहान ११ बजे माइतीघरको सुमार्गी कम्प्लेक्स अगाडि जम्मा भएर नयाँ बानेश्वर एभरेष्ट होटल अगाडि पुगेर विरोधसभा गरिने जनाइएको छ । प्रदर्शनका क्रममा मुल ब्यानरमा जबस मोर्चाका सिनियर तथा पदाधिकारीबाहेक अरुलाई बस्न नदिने पनि बैठकको निर्णय छ ।

उनीहरुले आन्दोलन शान्तिपूर्ण बनाउनका लागि लेखिएका र बाँडिएका निश्चित नारा मात्रै लगाउने, प्रहरी हस्तक्षेप भएमा सम्बन्धित कमाण्डबाट आदेश पालना गर्ने जस्ता मापदण्ड पनि बनाएका छन् ।

आन्दोलनमा सहभागीलाई कुनै समस्या भएमा वाईसीएलका प्रकाश पाण्डे, मजदुरका मुकुन्द र विद्यार्थीका नेता राजकुमार याक्सोलाई सम्पर्क गर्न पनि निर्देशन गरिएको छ ।

प्रतिक्रिया