बिहीबार, वैशाख २४, २०८३

संकटमा राजनीति

एमसीसीको वार, कहिले लाग्छ पार ?

बालकोट–बालुवाटार आहोरदोहोर

मेरोन्यूज २०७८ फागुन १३ गते २०:१२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी झण्डै पौने तीन वर्षपछि आइतबार प्रतिधिनिसभामा टेबल भएको छ । बिरोधकाबीच लामो समयपछि एमसीसी संसदमा टेबल गरिएपछि नेपालको राजनीति नै गिजोलिएको छ ।

एमसीसीकै कारण सत्ता गठबन्धन विभाजनको डिलमा उभिएको छ । गठबन्धनसँगै सरकारको समिकरण पनि भत्किने देखिएको छ । तर गठबन्धन दलहरुले एमसीसीकै कारण गठबन्धन नटुट्ने दाबी गरिरहेका छन् ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरुको असहमतिका बाबजुद पनि एमसीसी जसरी पनि पास गर्ने तयारी गरेपछि सत्ता गठबन्धनदेखि देशैभर सडक संघर्ष चुलिएको छ ।

संशोधनबिना एमसीसी अघि बढाउन नहुने बताएका माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन जोगाउनका लागि एमसीसी संसदमा टेबल गर्न दिए पनि पास गर्ने पक्षमा नदेखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धन भत्काएर भए पनि एमसीसी पास गर्ने तयारी गरेका छन् ।

आसन्न निर्वाचनलाई समेत लक्षित गरी अघि बढेको गठबन्धन भत्काउनका लागि उपयुक्त अवसर ठानेको नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली नयाँ समिकरण बनाएर एमसीसीलाई साथ दिने योजनामा छन् ।

आफू प्रधानमन्त्रीबाट बाहिरिएपछि एमसीसीकै कारण बालुवाटार छिरेका ओली केही दिन यता निरन्तरण देउवासँग छलफलमा छन् । ओलीमात्रै बालुवाटार आएका छैनन्, प्रधानमन्त्री देउवा पनि पार्टीका नेताहरुलाई लिएर ओली निवास बालकोट ओहोरदोहोर गरिरहेका छन् ।

सत्ता गठबन्धनका दलहरुले एमसीसी संसदबाट अनुमोदन हुन नदिने बताएपछि निरन्तर सात महिनादेखि संसदमा अवरोध गर्दै आएको एमालेसँग नयाँ समिकरण बनाएर एमसीसी पास गर्न देउवासहित कांग्रेस नेताहरु लागिपरेका छन् । एमसीसी पास गर्ने विषयमा कांग्रेस–एमाले नेताहरु सहमति नजिक पुगेपछि नयाँ समिकरण बन्ने देखिएको छ ।

तर सत्ता गठबन्धनका नेताहरुले भने एमसीसीकै लागि देउवाले प्रतिगामी शक्तिसँग गठजोड गर्ने कुरा दुर्भाग्यपूर्ण हुने बताउन थालेका छन् । एमसीसीको समर्थन पाउने नाममा देउवाले गठबन्धनको सीमा नाघेर ओलीसँग पुगेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बताउँछन् ।

देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएपछि नयाँ समिकरणको विकल्प देखिदैन । त्यसका लागि एमालेको साथ अनिवार्य बनेको छ ।

आफूहरुले प्रधानमन्त्री बनाएका देउवा गठबन्धन छाडेर एमालेसँग नजिकिन खोजेपछि प्रचण्डले शुक्रबार धनगढी पुगेका माधव नेपाललाई काठमाडौं झिकाएर छलफल गरे । नेपालसँग सिंहदरबारमा भेट गरे लगत्तै प्रचण्ड बालुवाटर पुगेर गठबन्धन नभत्काउन देउवालाई आग्रह गरेका थिए ।

उक्त भेटपछि गठबन्धन नभत्किने माओवादी नेताहरुले बताइरहे पनि त्यस लगत्तै देउवा आफ्नो टोलीका साथ पुनः शुक्रबार बेलुका ओली निवास बालकोट पुगे ।

प्रधानमन्त्री देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् । एमसीसीकै कारण पछिल्लो समय दलहरुमा तीव्र ध्रुवीकरण देखिएको छ ।

यसकै कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने एमसीसी पास गरिए झनै आन्दोलन चर्किने देखिएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया