मंगलबार, पुष २९, २०८२

एमसीसीबारे झलनाथले भने– मध्यमार्ग हुँदैन, एस वा नो मार्ग

‘सरकार छोडने विषयमा पार्टीमा कुनै छलफल भएको छैन’

मेरोन्यूज २०७८ फागुन १४ गते १८:४०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले एमसीसीका सन्दर्भमा कुनै मध्यमार्गी नभएको बताएका छन् ।

‘यसमा मध्यमार्ग भन्ने हुँदैन, एस वा नो को मार्ग’, खनालले भने, ‘हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’

नेता खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सरकार छोडने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि जानकारी दिए ।

शनिबार माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्धा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताए ।

खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।

‘अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं ।’– खनालले भने ।

खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारे ।

प्रतिक्रिया