मंगलबार, पुष २९, २०८२

माओवादी केन्द्र निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने

मेरोन्यूज २०७८ फागुन १५ गते ११:०४
फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो र

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बिहान बसेको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निष्कर्शमा पुगेको हो । बैठकले एमसीसीका राष्ट्रिय हितविपरीत भएका प्रावधानहरू परिमार्जन र संशोधनसहित पारित गर्न सकिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसअघि माओवादीले संशोधनबिना एमसीसी पारित गर्न नसक्ने अडान लिदै आएको थियो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसीसी पारित गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए ।

अध्यक्ष अ‍ोलीले आफ्नो माग पूरा नभएसम्म साथ दिन नसक्ने बताएसँगै प्रधानमन्त्री देउवा दबाबमा थिए । अ‍ोलीले आफूले कारबाही गरेको १४ जना सांसदलाई संसदबाट निष्काशन गर्नु पर्ने वा सभामुखको विकल्प हुनु पर्ने माग राख्दै आएका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाले सत्ता साझेदारी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरूलाई एमसीसी अनुमोदन नगरे गठबन्धन नहुने भन्दै दबाब दिँदै आएका थिए । प्रधानमन्त्रीको दबाबसँगै दुवै दलले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया