मंगलबार, चैत १०, २०८२

एमसीसीका कारण माओवादीमा द्वन्द्व बढ्यो, महोत्तरीमा असन्तुष्टी

मेरोन्यूज २०७८ फागुन १६ गते १४:३८

महोत्तरी । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टी देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरित भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन् ।

माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुंगानाले फेसवुकमा माओवादी नेतृत्व अमेरिकी सम्राज्यवादतर्फ घुडा टेकेको आरोप लगाएका छन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको एजेण्डा बोकेर १० बर्षसम्म जनयुद्ध लडेको पार्टी नै एमसीसीको पक्षमा घुडा टेक्नु स्वीकार्य नहुने र बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

यसैगरी, जिल्लाका कतिपय नेताकार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै पार्टी नै त्याग्ने घोषणा समेत गरे ।

बर्दिबासस्थित स्थानीय नेता सौरभ खड्का र निरज अधिकारीले पनि पार्टी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेताकार्याकर्ताको भावनामा ठेस पुर्याएको बताए ।

बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो । गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ ।

पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।

पाँच दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा माओवादीको कदमलाइ लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी बिपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषलाइ लिएर खिल्ली उडाएका छन् ।

जिल्लास्थित कतिपय जिम्मेवार नेताहरू एमसीसीको विरोधमा आज आयोजित नेपाल बन्दको समर्थनमा उत्रिएका छन् ।

माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गनाले पाटीको औचित्य सकिएको बताएका छन् । तर, उनले पार्टी छाड्ने बिषयमा भने केही बताएनन् ।

यता, मधेश प्रदेश कमिटीका सदस्य राजन ढुङ्गनाले भने अब पार्टीमा बस्न नसकिने प्रष्ट पारेका छन् । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको बिषयलाई लिएर आपत्ती जनाएका छन् ।

२० फागुनमा हुने केन्द्रीय समितिको बैठकपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया