मंगलबार, माघ ६, २०८२

एमसीसीविरुद्ध आन्दोलन चर्किएपछि बीरेन्द्रनगरमा कर्फ्यु

मेरोन्यूज २०७८ फागुन १६ गते २०:५८

सुर्खेत । एमसीसीविरुद्ध आन्दोलन चर्किएपछि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

अमेरिकी सहयोग सम्झौता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कफ्यू आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंहको मसाल लगायतका कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया