बिहीबार, चैत १२, २०८२

कर्णाली प्रदेश ः समितिमा पठाइयो तीन विधेयक

मेरोन्यूज २०७८ फागुन १८ गते २१:५८

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको ११औँ बैठकले तीनवटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले गत माघ २७ गते प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिएका थिए ।

सोहीअनुसार ती विधेयकमाथि संशोधनको सूचना परेको जनाउँदै सभामुख शाहीले आज थप छलफलका लागि सभामा प्रस्ताव गर्न मन्त्रीलाई समय दिए ।

प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले सभामा दफाबार छलफलका लागि प्रस्ताव गर्नुभएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ पहिलो संशोधन गर्न बनेको विधेयक’ सामाजिक विकास समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले प्रस्ताव गरेको ‘शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक, २०७७’ प्रदेश मामिला तथा विधायन समितिमा पठाइएको छ ।

प्रदेशसभा सदस्य नरेश भण्डारीले सिञ्जा प्रस्ताव गर्नुभएको गैरसरकारी विधेयक ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ पनि दफाबार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ ।

त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ जारी सभाबाट स्वीकृत भइसकेकाले प्रस्थापन विधेयकरूपमा सभामा प्राप्त भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ सभासमक्ष टेबुल गरे ।

सभामुख शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ नियम १२५ को उपनियम ६ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८’ माथि छलफलका लागि तालिका तोकिएको सूचना गरे ।

तालिकाअनुसार फागुन १९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रलायले छलफलमा भाग लिनेछन् ।

फागुन २३ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश लोकसेवा, मुख्य न्यायाधिवक्ताको कार्यालय र कर्णाली प्रदेश योजना आयोग, २४ गते भौतिक पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शीर्षकमा दफाबार छलफलको समय निर्धारण गरिएको उनले जानकारी दिए ।

‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ प्रदेशसभाबाट स्वीकृत भइसकेको र प्रस्थिापन विधेयकरूपमा सभामा प्राप्त भएको उक्त विधेयक सभासमक्ष टेबुल गरे । सो विधेयकमाथि छलफल गर्न स्वीकृतिका लागि विचार गरियोस् भनी सभासमक्ष मन्त्री विष्टले गरेको प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।

कानूनमन्त्री शाहीले ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरे । अर्को बैठक आगामी फागुन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ । (रासस)

प्रतिक्रिया